बिर्तामोड,

सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य शिक्षा भने पनि झापामा बहिरा बालबालिकालाई अध्ययन गर्न विद्यालय नै छैनभन्दा अपत्यारिलो लाग्न सक्छ । तर, वास्तविकता भने यही हो ।

झापाका चार विद्यालयमा बहिरा बालबालिका अध्ययनका लागि श्रोत कक्षाहरु सञ्चालनमा रहे पनि उनीहरुले अध्ययन गर्ने छुट्टै विद्यालय भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन । झापामा एक सय ४३ बहिरा बिद्यार्थी अध्ययनरत् छन् । तर, उनीहरु विभिन्न विद्यालयले सञ्चालन गरेको श्रोत कक्षामा अध्ययन गरिरहेका छन् । बिर्तामोडमा रहेको मोहनमाया माध्यमिक विद्यालय, कनकाई मावि सुरुङ्गा, हिमाली आधारभूत विद्यालय लक्ष्मीपुर, मंगलमय माध्यमिक विद्यालयले बहिरा बालवालिकाका लागि श्रोत कक्षा सञ्चालन गरेका छन् ।

राष्ट्रिय बहिरा शिक्षक संघ नेपालका प्रदेश नम्वर १का संयोजक हरिप्रसाद अधिकारीका अनुसार मोहनमायामा दुई वटा श्रोत कक्षामा २३, कनकाई मावि सुरुङ्गामा सात श्रोत कक्षामा ६२ जना, हिमाली लक्ष्मीपुरमा दुई श्रोत कक्षामा २१ जना र मंगलमय माविमा तीन श्रोत कक्षामा २७ जना विद्यार्थी अध्ययनरत् छन् ।


चार विद्यालयमा श्रोत कक्षा सञ्चालन भए पनि कनकाई माविमा मात्रै १० कक्षासम्मको पठनपाठन हुने गरेको छ । अन्य तीन विद्यालयमा आधारभूत तहका मात्रै कक्षा सञ्चालन हुँदै आएको हिमाली आधारभूत विद्यालयका शिक्षक समेत रहेका अधिकारीले बताए । बालबालिका अध्ययनका लागि छुट्टै विद्यालय नहुँदा एउटै कोठामा दुई वा दुई भन्दा बढी कक्षाहरु सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।
बहिरा विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप र खेलकुद हुन नसकेको बहिरा शिक्षकहरुको भनाइ छ । उनीहरुका अनुसार बहिरा बालबालिकाका लागि दाताले दिएको सहयोग प्रयोगमा आउन सकेको छैन ।
उच्च शिक्षाबाट बञ्चित
वहिरा विद्यार्थी अध्ययनका लागि २०५१ सालबाट झापामा श्रोत कक्षा सञ्चालनमा आए पनि हालसम्म बहिराका लागि छुट्टै माध्यमिक तहसम्मको बिद्यालय स्थापना नहुँदा बहिरा बिद्यार्थी पढाइबाट बञ्चित हुने गरेका छन् ।
विभिन्न विद्यालयमा सञ्चालनमा रहेका श्रोत कक्षा हुँदै कनकाई माविबाट एसईई परीक्षा उत्तीर्ण गरे पनि त्यस अघिकोे पढाइका लागि विद्यालय नहुँदा उनीहरुले बीचैमा पढाई छाड्नुपर्ने बाध्यता रहेको बताइएको छ । प्रदेश १का संयोजक अधिकारी भन्छन्– ‘त्यसै त बहिरा बालबालिकालाई हेयको दृष्टिकोणले हेरिन्छ, त्यसमाथि पनि उनीहरुलाई उच्च शिक्षाबाट बञ्चित गर्दा उनीहरुको भविष्य नै अन्धकार हुने गरेको छ ।’
केही सम्पन्न परिवारका बालबालिका पोखरा तथा काठमाडौंमा सञ्चालनमा रहेका बहिरा विद्यालयमा अध्ययनका लागि जान्छन् तर अधिकांश बहिरा बालबालिका १० कक्षासम्मको पढाइ सकेर घर फर्कन्छन्– अधिकारी भन्छन्– ‘न बहिराको पीडा सरकारले बुझ्छ न त अभिभावकले चाहेर पनि केही गर्न सक्छन् ।’
मागेर धान्नुपर्ने बाध्यता
बहिरा बालबालिकाका लागि चार विद्यालयले श्रोत कक्षा सञ्चालन गरे पनि उनीहरुले दाताकै भर पर्नु पर्ने अवस्था रहेको छ ।
सरकारले प्रतिविद्यार्थी मासिक चार हजार रुपैयाँ १० महिनासम्म दिए पनि सो रकम उनीहरुका लागि अपुग भएपछि दाताको भर पर्नुपर्ने बाध्यता रहेको हिमाली आधारभूत विद्यालयका प्रधानाध्यापक केशव ओझाले बताए । उनले भने– ‘हामी कहाँ पनि २१ जना विद्यार्थी अध्ययरत् छन् । उनीहरु विद्यालयमै रहने हुँदा सरकारी खर्चले धान्न मुस्किल छ ।’
आवाससहित बहिरा बिद्यार्थीलाई रेखदेखका लागि दुई जना कर्मचारी २४ सैं घण्टा आवश्यक पर्छ त्यो सवै खर्च जोड्ने हो भने वहिरा कक्षा नचलाउँ झंै लाग्छ– प्रधानाध्यापक ओझाले भने– ‘विद्यार्थीको भविष्य सम्झेर पनि दाताको सहयोगमा श्रोत कक्षा सञ्चालन गरिरहेका छौं ।’
बहिरा विद्यालय खोल्न माग
सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य भने पनि बहिरा बिद्यार्थीहरु पढ्नबाटै बञ्चित हुनु परेको भन्दै राष्ट्रिय बहिरा शिक्षक संघ नेपाल झापाले प्रदेश सरकारसँग झापामा छुट्टै बहिरा विद्यालय खोल्न माग गरेको छ ।
प्रदेश नम्वर १का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापन पत्र वुझाउँदै झापामा वहिरा विद्यालय स्थापनाका लागि बजेट माग गरेको राष्ट्रिय बहिरा शिक्षक संघ नेपालका प्रदेश संयोजक अधिकारीले बताए । उनले भने– कनकाई नगरपालिकासँग जग्गा व्यवस्थापनको माग गरे पनि नगरले आलटाल गरिरहेको छ ।’
नगरप्रमुख राजेन्द्रकुमार पोखरेललाई ज्ञापनपत्र बुझाउँदै जग्गा व्यवस्थापनको माग पटक–पटक गरेको तर नगरप्रमुखले खासै चासो नदिएको उनको आरोप छ ।
दाताको खोजी
बहिरा बिद्यालय स्थापनाका लागि सरकारसंग पटक–पटक माग गरे पनि चासो नदेखाएको भन्दै आफ्नै पहलमा विद्यालयलाई आवश्यक पर्ने जमिनको खोजी भइरहेको राष्ट्रिय बहिरा शिक्षक संघ नेपालका प्रदेश नम्वर १का संयोजक अधिकारीले बताए ।
उनले भने– झापाका सबैजसो सामुदायिक बिद्यालय दाताले दिएकै जमिनमा सञ्चालित छन् अब बहिरा विद्यालय स्थापनाका लागि हामी पनि दाता खोजी रहेका छौं । जसले विद्यालय स्थापनका लागि जमिन प्रदान गर्छ उहाँकै नाममा बहिरा बिद्यालयको नामकरण गरी सञ्चालन गर्ने सोच छ ।
केन्द्र सरकारदेखि प्रदेश सरकार हुँदै स्थानीय तहसम्मलाई झापामा बहिरा विद्यालय आवश्यक रहेको भन्दै पटक–पटक जानकारीसहित ज्ञापन पत्र वुझायौं तर हामी वहिराको आवाज सरकारले सुनेन, अब हामी आफैं दाताको खोजी गरिरहेका छौं ।
वहिरा विद्यार्थी पढाउँदै १६ शिक्षक
चार विद्यालयले सञ्चालन गरेको बहिरा विद्यार्थीका लागि सञ्चालित श्रोत कक्षामा १६ जना शिक्षकले अध्यापन गराउने गरेका छन् । जसमध्ये १२ जना शिक्षक बहिरा नै छन् । चार शिक्षक भने सुन्ने र वोल्ने रहेको प्रदेश संयोजक अधिकारीले बताए । उनले भने– ‘हिमाली आधारभूत विद्यालयमा म सहित तीन जान शिक्षक कार्यरत छौं ।’
अधिकारीका अनुसार हिमालीमा अधिकारीसहित वेदराज आचार्य र गीता श्रेष्ठ कार्यरत छन् । त्यस्तै कनकाई मावि सुरुङ्गामा नवराज भट्टराई, गोपाल तामाङ, रेणु राई, प्रेम चापागाँई, गोपाल खरेल, वेद खतिवडा, शिला देवकोटा र ख्यामकुमारी घिमिरे कार्यरत छन् ।
उता मंगलमयमा लक्ष्मी ढकाल, ओमप्रकाश संग्रौला र सरिता घिमिरेले अध्यापन गराइरहेका छन् । मोहनमाया माध्यमिक विद्यालयमा राघव गड्तौला र सृजना पौडेलले बहिरा विद्यार्थीलाई पठनपाठन गराउने गरेको प्रदेश १का संयोजक अधिकारीले जानकारी दिए ।

