काठमाडौको चोभारमा एक अर्ब रुपैयाँ बढीको लगानीमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समिति अन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीलान्यास गर्नुभयो । व्यापार पूर्वाधार विकासको क्रममा काठमाडौंको बढ्दो आवश्यकतालाई ध्यानमा राखी चोभारस्थित साविकको हिमाल सिमेन्ट कारखाना रहेको जग्गामा विश्व बैंकको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको सुख्खाबन्दरगाह निर्माण सुरु गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सुख्खा बन्दरगाहको शीलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेपालको व्यापारलाई अन्तर्राष्ट्रिय व्यापारसंग सहजीकरण गर्न यसले भूमिका खेल्ने बताउनुभयो । यसको निर्माण कार्य सुरु भएसँगै यस क्षेत्रका स्थानीयको जनजीवन, रोजगारी र मुलुकको अर्थतन्त्रमा यसको सकारात्मक कार्यहरु प्रारम्भ हुने बताउनुभयो ।

केही सीमित व्यक्तिहरुको व्यक्तिगत स्वार्थका कारण सुख्खा बन्दरगाहको शीलान्यास गर्नमा ढिलाइ भएको प्रधानमन्त्री ओलीको भनाई थियो सुख्खा बन्दरगाहमा गोदाम, प्रशासनिक भवन, सुरक्षा निकाय बस्ने भवन, सवारी नापतौल तथा नियन्त्रण कक्ष, कन्टेनर ग्राउण्ड स्टल, एक्जीम क्षेत्र, ट्रक पार्किङ, ढल प्रशोधन केन्द्र, फायर फाइटिङ, सुरक्षा निगरानीका लागि सीसीटीभी लगायत व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । बन्दरगाह निर्माण सम्पन्न भएपछि सोही स्थानमा अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी केन्द्र निर्माणको काम समेत अगाडि बढाइने मन्त्रालयले जनाएको छ । समिति अन्तर्गत, हाल झापाको काँकडभित्ता, विराटनगर, वीरगञ्ज, भैरहवामा सुख्खा बन्दरगाह निर्माण एवं एकीकृत सुरक्षा जाँच चौकी सञ्चालन भइरहेको छ । सिन्धुपाल्चोकको तातोपानी र रसुवाको टिमुरेमा पनि सुख्खा बन्दरगाह निर्माणको क्रममा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिनुभयो ।

