Aamsanchar

शनिश्चरे–अर्जुनधारा खानेपानीको २४औं सभा

Author Image
आइतवार, माघ ६, २०७५

अर्जुनधारा।

शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति अर्जुनधारा–८को २४औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष शंकर सुवेदीको अध्यक्षता र प्रदेश नम्बर १का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य समितिकी उपाध्यक्ष कुसुम राईले प्रस्तुत गरेकी थिइन् ।

सभामा अध्यक्ष सुवेदीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र सचिव किरण शिवाकोटीले चालु आर्थिक वर्ष ०७५÷०७६को लागि अनुमानित आम्दानी–खर्च विवरण सहितको सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार समितिले आगामी दिनमा अर्जुनधारा–९स्थित मगर चोकमा निर्माणाधीन अवस्थामा रहेको ४.५ घनमिटर क्षमताको ओभरहेड ट्याङकीलाई यस वर्षदेखि सञ्चालन गर्ने, मगर चोकको पानीट्याङकी परिसरमा थप भएको जग्गामा कम्पाउण्ड वाल लगाउने, कार्यालय परिसरमा भएको जमिनलाई पार्कमा परिणत गरी आयमुलक बनाई सौन्दर्यीकरण गरिनेलगायत रहेको छ । त्यसैगरी अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना तर्जुमा गरी कार्ययोजना बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ ।


त्यस्तै प्रतिवेदनमा गत आर्थिक वर्ष ०७४÷०७५मा संस्थाको जम्मा आम्दानी ७७ लाख ३७ हजार तीन सय ३८ रुपैयाँ ५५ पैसा, जम्मा खर्च ४० लाख ८९ हजार तीन सय ८१ रुपैयाँ ५६ पैसा र जम्मा बचत ३६ लाख ४७ हजार नौ सय ५६ रुपैयाँ ९९ पैसा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको लागि अनुमानित आम्दानी एक करोड ३५ लाख ५९ हजार रुपैयाँ, अनुमानित खर्च एक करोड छ लाख पाँच हजार सात सय रुपैयाँ प्रस्ताव गरेको संस्थाको गत मंसिरसम्मको यथार्थ आम्दानी ३६ लाख ४२ हजार तीन सय १५ रुपैयाँ ६३ पैसा र यथार्थ खर्च ४३ लाख १७ हजार एक सय २६ रुपैयाँ ८३ पैसा उल्लेख गरिएको छ ।

सोही सभाको सन्दर्भमा सेवानिवृत्त संस्थाका कर्मचारी मानबहादुर थापा मगरलाई नगद, सम्मान पत्र र दोसल्ला ओढाई विदाई सम्मान गरिएको थियो । सभामा पूर्व वन राज्यमन्त्री विरमणी ढकाल, वडा नम्बर ६का वडाध्यक्ष लोकनाथ गौतम, संस्थापक अध्यक्ष एवम् सल्लाहकार समितिका संयोजक केदारमणी ढकाल, सदस्यहरु कृष्णमाया कडुवाल, लवकुश गिरी, शेखर प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभाको सञ्चालन सचिव शिवाकोटीले गरेका थिए ।

Views: 178

प्रतिक्रिया (०)