Aamsanchar

ओझेलमा स्वर्णपदक बिजेता

Author Image
मङ्गलवार, माघ ८, २०७५

बिर्तामोड।

नेपालमा ‘खेल’कै संज्ञा नदिइएको बडीबिल्डिङ प्रतियोगितामा सहभागी बनेर नेपालका विभिन्न खेलाडीले विश्व च्याम्पियन बन्दै नेपाललाई चिनाएका छन् ।

काठमाडौं निवासी महेश्वर महर्जन अहिलेका बडी बिल्डर सेलिब्रेटी नै हुन् । हालै थाइल्याण्डमा आयोजित १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले पुरुष ७५ केजी तौल समूहतर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

यता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न प्रतियोगितामा बडी बिल्डिङ च्याम्पियन बन्दै झापाका चार खेलाडीले स्वर्णपदक हात पारेपनि उनीहरु ओझेलमा छन् । सरकारले खेलकुदलाई प्राथमिकता दिने भने पनि बडी बिल्डिङमा स्वर्णपदक हात पार्दा समेत यो खेललाई महत्व नदिएको खेलाडीले गुनासो गरेका छन् । उनीहरु भन्छन्–‘गोल्डमेडल जितेर देशको नाम त अन्तर्राष्ट्रिय स्तरमा चिनायौं, तर सरकारले हामीलाई चिनेन ।’

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बडी बिल्डिङ प्रतियोगितामा तौल समूह तथा ओभरल तर्फबाट ५० वढी स्वर्ण पदक(गोल्डमेडल) हात पारेका बिर्तामोड निवासी राम दाहाल अहिले बडीबिल्डर खेलाडी उत्पादनमा लागेका छन् । उनी भन्छन्–मैले प्रतिष्पर्धा गरेर धेरै मेडल हात पारेँ, अब म उत्तराधिकारी बनाउने तयारीमा छु ।’

उनले नवौं साफ गेम २०१५मा दक्षिण एशियाका तर्फबाट ६० केजी तौल समूहमा स्वर्ण पदक दिलाएका थिए । साफ गेममा पनि वडी विल्डिङ प्रतियोगितामा स्वर्ण पदक दिलाउने राम नेपालका लागि पहिलो व्यक्ति हुन् । उनले योसँगै सन् २०१३मा हङकङमा भएको एशियन गेममा शारीरिक सुगठन (वडी विल्डिङ) तर्फ ६० केजी तौल समूहमा देशका लागि रजत पदक दिलाएका थिए ।

उनी पाँचपटक ओभरलमा च्याम्पियन बनिसकेका छन् । उनी सन् २०१४मा मिस्टर बूढासुव्वा, २०१५मा मिस्टर सगरमाथा, २०१६मा मिस्टर वुल्समेन, २०१७मा नेपाल च्याम्पियन, सन् २०१२मा मिष्टर हिमालय नेशनल बडी विल्डिङ प्रतियोगितामा ओभरल बिजेता बनिसकेका छन् । उनले धर्मश्री वडीविल्डिङ प्रतियोगितामा दुईपटक फष्ट रनरअपको उपाधि समेत उचालेका थिए भने हालै काठमाडौंमा सम्पन्न फष्ट साउथ एशियन च्याम्पियनशिप प्रतियोगितामा उनले स्वर्ण पदक हात पारेका थिए ।

उनी जस्तै बिर्तामोडकै जीवन राई पनि वडी विल्डिङतर्फका स्वर्ण पदक बिजेता खेलाडी हुन् । उनले सात वटा स्वर्ण पदक (गोल्ड मेडल) हात पारिसकेका छन् । खेलकै माध्यमबाट उनले अहिले जीविकोपार्जन गरिरहेको जनाइएको छ । हाल उनी कुवेतमा वडीबिल्डिङको प्रशिक्षकको रुपमा कार्यरत छन् । देशका लागि उनले विभिन्न पदक दिलाए पनि राज्यले खेलाडीलाई उचित सम्मान दिन नसक्दा विदेश पलायन हुनु परेको छ ।

त्यस्तै बिर्तामोडकै चन्द्र लोक्सम लिम्बूले पनि मिष्टर पूर्वाञ्चल प्रतियोगितामा ६० केजी तौल समूह अन्तरगत स्वर्ण पदक हात पारेका थिए । उनी हाल वडी विल्डर क्षेत्रमै क्रियाशील छन् । यता अर्जुनधाराका तुल श्रेष्ठले पनि मिष्टर पूर्वाञ्चल वडीविल्डिङ प्रतियोगितामै २०७१ सालमा ओभरअल च्याम्पियन बन्दै स्वर्ण पदक हात पारेका थिए । हाल उनी ब्रदर एण्ड सिस्टर जिम हाउस सञ्चालन गरेर बसेका छन् ।

जिममा युवाको बढ्दो आकर्षण

स्वस्थ र सुन्दर शरीरिका लागि जिम र फिटनेश सेन्टर धाउनेहरूको संख्या बढ्दो छ । युवाको बढ्दो क्रेजका कारण जिम हाउस पनि उत्तिकै खुलेका छन् ।

झापाको बिर्तामोडमा पनि दिन प्रतिदिन जिम हाउस खुल्ने क्रम जारी छ । जिम हाउसमा करोडौं लगानी गरेर यहाँका युवाले आफू स्वरोजगार बनेका छन् र अरुलाई पनि स्वरोजगार बनाएका छन् । बिर्तामोडमा मात्रै हाल दर्जनभन्दा बढी जिम हाउस सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर