Aamsanchar

सीमानाकाबाट ३६१ महिलाको उद्धार

Author Image
बुधवार, माघ ९, २०७५

कृष्णनगर, 

मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ ।

सो संस्थाले तीन वर्षको प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा १२ हजार ४६७ जनासँग सीमानाकामा परामर्श गरिएको जनाएको छ । दुई सय २६ महिलालाई आपतकालीन सुरक्षित आवास सेवा प्रदान गरिएको सो संस्थाका जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो । “तीस महिलालाई उद्धारपश्चात चितवनस्थित सुरक्षित आवासगृहमा राखिएको छ,” उहाँले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय कृष्णनगरमा दर्ता भएका नौ मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा १४ प्रभावितले ११ विचौलियाविरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला अदालत कपिलवस्तुले सात मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा अभियुक्तलाई जेल सजायको फैसला सुनाएको थियो ।

केआइ नेपाल शाखा कार्यालय कपिलवस्तुका अनुसार तीन वर्षको अवधिमा १५ देखि २५ वर्ष उमेर समूहका महिला बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । आर्थिक अभाव, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोगलगायत कारण महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।

Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर