बिर्तामोड।
घरपरिवार छाडेर टाढा बस्नुपर्ने, हाकिमबाट केही कुरामा गाली खाइयो, के गर्ने ? थोरै तलबबाट महिनाभर पारिवारिक आवश्यकता धान्न कठिन भयो, के गर्ने ?
जंगी कर्मचारी तथा राष्ट्रसेवक कर्मचारीमा यसरी उत्पन्न हुने तनाव व्यवस्थापन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ हस्पिटलले बुधबार नेपाली सेनालाई प्रशिक्षण दिएको छ । क्षमता र पेशागत ज्ञानसँगै तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
व्यक्तिगत, सामाजिक तथा कार्यस्थल वातावरणका कारण उत्पन्न हुने तनावसँग जुध्न सिकाउने उद्देश्यले मनोरोग विशेषज्ञ प्रा.डा. निदेश सापकोटाले नेपाली सेनालाई प्रशिक्षण दिएका हुन् । २१ नम्बर बाहिनी केर्खाका दुई सय ५० जना नेपाली सेनाले तनाव व्यवस्थापनको तालिम लिएका थिए ।
सामाजिक दायित्व धेरै भएका कर्मचारीले ती दायित्व पूरा गर्न नसक्दा पनि तनाव व्यहोर्नुपर्ने हुन्छ । त्यस्तै सरुवा भएर परिवारबाट टाढा हुँदा, भनेका बेला बिदा नपाउँदा, कार्यालय प्रमुख र सहकर्मीसँग सम्बन्ध बिग्रिँदा पनि कर्मचारीमा तनाव देखिने गरेको छ । यस्तो अवस्थामा यो प्रकृतिको तालिम फलदायी बनेको २१ नम्बर बाहिनी केर्खाका बाहिनीपति सञ्जय थापाले बताए ।
यस्तै तनावको व्यवस्थापन कसरी गर्ने भन्ने तरिका र ज्ञान सिकाएर नेपाली सेनामा थप उत्साह प्रदान गरेको भन्दै २१ नम्बर बाहिनी केर्खाका सहायक बाहिनीपति शक्तिजंग बस्नेतले बीएण्डसी टिचिङ हस्पिटललाई धन्यवाद दिएका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयहरुमा समेत हस्पिटलले मनोपरामर्शका प्रशिक्षणहरु सञ्चालन गरिसकेको बीएण्डसी टिचिङ हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।