शान्तिनगर ।

झापा मेचीनगर–९ स्थित हरि आधारभुत विद्यालयका ८० जना विद्यार्थीलाई विहिवार शैक्षिक सामाग्री (ब्याग) वितरण गरिएको छ । मागुरमाडी बचत तथा ऋण सहकारी संस्थाको ८ औँ बार्षिक उत्वसवको अवसरमा कार्यालय परिषरमा आयोजित कार्यक्रममा हरि आधारभुत विद्यालयका कक्षा १ देखि ५ कक्षासम्म अध्ययरत् ८० जना विद्यार्थीलाई ब्याग वितरण गरिएको हो ।

विद्यार्थीहरुलाई किताब कापी बोक्न सहज होस् भन्ने हेतुले व्याग प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष कञ्चन तामाङले जानकारी दिए । उनले विद्यालयमा पढ्ने गरिब तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर सहयोग गरिएको बताए । ब्याग पाएपछि विद्यार्थीहरु दंग देखिएका थिए । सो विद्यालयमा ग्रामीण क्षेत्रका खेती किसानी गर्ने अभिभावकका छोराछोरी अध्ययनरत् छन् ।

सोही अवसरमा आयोजित अन्तर टोलस्तरीय हाजिरीजवाफ प्रतियोगितामा टोल नम्बर ९ प्रथम, टोल नम्बर ५ दोस्रो र टोल नम्बर २ तेस्रो भएका थिए । प्रतियोगितामा एउटा विद्यालयको समूहसहित १० वटा टोलहरुको सहभागिता थियो । सहभागी सबै समूहहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

सहकारी संस्थाका अध्यक्ष कञ्चन तामाङको अध्यक्षता तथा हरि आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगीता गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष सञ्जय ढुङ्गाना, हरि आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र फुयल, मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर–१ का अध्यक्ष बमबहादुर बेघा लगायतले मन्तव्य राखेका थिए ।
सहकारी संस्थाका लेखा समिति संयोजक तीर्थ खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव ध्रुवकुमार पौडेलले गरेका थिए । आफ्ना शेयर सदस्यहरुलाई बाहिरी ज्ञान दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको संस्थाका सचिव पौडेलले जानकारी दिए ।

