Aamsanchar

मेसिन प्रयोगको विरोधमा वडा कार्यालयमा तालाबन्दी

Author Image
शुक्रवार, माघ ११, २०७५

अमित खम्बू / अर्जुनधारा।

स्थानीय बिरीङ नदीमा मेसिनको प्रयोग गरी पुनः शुरु भएको नदीजन्य सामग्रीहरु उत्खनन् कार्यको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) वडा कमिटीले विहिबार अर्जुनधारा–१स्थित वडा समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।

त्यस क्षेत्रमा बसोबास गर्ने समुदायको जनभावना विपरीत पुनः शुरु भएको उत्खनन् कार्य तत्काल बन्द गर्न वडाध्यक्ष गजाधर खतिवडामार्फत् नगरपालिकालाई ध्यानाकर्षण गराउँदै कमिटीले तालाबन्दी गरेको हो ।

कमिटीका अध्यक्ष भक्तिप्रसाद कोइराला र सचिव विजेन्द्र एक्तेनले संयुक्तरुपमा हस्ताक्षर गरी अर्जुनधारा नगरपालिकाको कार्यालयलाई बोदार्थ दिइएको उक्त ज्ञापन पत्रमा उत्खनन् कार्य बन्द नहुँदासम्म तालाबन्दी निरन्तर रहने उल्लेख गरिएको छ ।

नदीजन्य सामग्रीहरु उत्खनन्मा मेसिन प्रयोग गरेका कारण स्थानीय गाँउवस्ती सुख्खा मरुभूमीमा रुपान्तरण हुँदै गएको, खेतीयोग्य जमिनहरु बाँझिदै गएको, खानेपानीको मुहान सुक्दै गएको नेपाली काँग्रेस वडा समितिका सचिव उपेन्द्र बस्नेतले बताए । यस अघि काँग्रेस वडा समिति र खुदुनावारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिकोतर्फबाट नगरपालिकालाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाइएको सचिव बस्नेतले बताए ।

गत वर्ष स्थानीयहरुको आन्दोलनपश्चात् रोकिएको उत्खनन् कार्य नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण(आईई) प्रतिवेदन अनुसार कुन क्षेत्रमा कति उत्खनन् गर्न मिल्ने र निमिल्ने मापदण्ड तयार गरी हार्डबिट मार्फत् चालु आर्थिक वर्षमा दुई करोड ६१ लाखमा लगाएको ठेक्का सम्झौता अनुसार ठेकेदारले बुधबारदेखि उत्खनन् कार्य शुरु गरेको हो ।

यता यस विषयमा स्थानीय सरकार प्रमुख हरिकुमार रानाले वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्न आफू लाग्ने बताए । “बोर्डमा पनि गम्भिर छलफल गर्छौ,‘तर तालाबन्दीका कारण सर्वसाधारणले भने अलि दुःख पाउने भए”–उनले थप आफ्नो भनाइ राखे ।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर