झापा ।



बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको आज एक कार्यक्रमका बीच भब्य उद्घाटन हुदैछ । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने जनाइएको छ । महोत्सव ११ देखि २३ माघसम्म सञ्चालन हुँदैछ ।

महोत्सवको आकर्षणका रुपमा माउन्टेन एयरको हेलिकप्टर ल्याइने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । हेलिकप्टरमार्फत पुष्पवृष्टी गराउँदै महोत्सव उद्घाटन गर्ने आयोजक समितिको तयारी रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । तीनवटा प्याकेजका रुपमा हेलिकप्टर सञ्चालन गरिने बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्कीले वताए ।


हेलिकप्टर मार्फत ५ मिनेटको प्याकेजमा बिर्तामोड अवलोकन गर्न सकिने छ । जसमा विद्यार्थीहरुको सहभागिताको अपेक्षा गरिएको छ । १० देखि १२ मिनेटको प्याकेजमा झापाभित्रै ३६ किलोमिटर उडान गराइनेछ । आयोजक समितिले बिर्तामोडदेखि ताप्लेजुङस्थित पाथीभरादवीको मन्दिरसम्मका लागि तेस्रो प्याकेज पनि बनाएको छ । एक पटकमा ६ जना चढ्न मिल्ने हेलिकप्टर आउने बताइएको छ । हेलिकप्टर महोत्सव अवधिभर रहनेछ ।
यहाँको व्यापारलाई अन्तर्राष्ट्रियकरण गर्न महोत्सव कोशेढुंगा सावित हुने आयोजक समितिको विश्वास छ । महोत्सवमा २ लाख भन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
आन्तरिक राजस्व कार्यालयमा महोत्सवको नामबाट भ्याट दर्ता गरेर काम अगाडि बढाइएको महोत्सव आयोजक समितिका सचिब सञ्जिब घिमिरेले बताए । महोत्सव अवधिमा विभिन्न संघसंस्थाको सहयोगमा आँखा शिविर, दन्त शिविर, छाला रोगसम्बन्धी शिविर, प्राथमिक उपचार सेवा, एम्बुलेन्स सेवा, रक्तदान कार्यक्रमलगायत स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गर्न उपसमिति गठन गरिएको छ ।
मेला व्यवस्थापन सम्झौता काठमाडौँस्थित विविध एक्सपो कम्पनीसँग भएको वाणिज्य संघ बिर्तामोडका उपाध्यक्ष नारायण चिमरियाले बताएका छन । उनका अनुसार बाल उद्यान निमार्ण सम्झौता राजधानी एमुज्मेन्ट राइडसँग गरिएको छ । महोत्सवका लागि २ सय १० वटा स्टल बुकिङ भएको उपाध्यक्ष पार्वता खरेल विमलीले बताइन् । महोत्सवका दिन स्थानीय संघसस्थाका व्यानरसहित प्रभातफेरि कार्यक्रम गर्ने तयारी गरिएको छ ।
महोत्सव आयोजक समितिका अनुसार नेपाल लगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने उद्देश्यका साथ बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो ।
मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता रहनेछ । मेलामा ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति देखाउनेछन् । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजक्टसम्मका उत्पादन मेलामा पाइने छ । १ करोड ५ लाख रुपैयाँको लागतमा मेला सम्पन्न हुने अपेक्षा छ ।
महोत्सवमा मुलुकका चर्चित कलाकारहरु तथा विभिन्न व्याण्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ । महोत्सव सफल बनाउन मूल समिति तथा विभिन्न १० वटा उपसमिति बनाइएको छ । महोत्सव स्थलमा सीसी टिभीबाट २४ घण्टा सुरक्षाको व्यवस्था मिलाइएको संघले जनाएको छ ।

