Aamsanchar

अमेरिका र झापाली युवाले दिए शैक्षिक र खेलकुदका सामग्री

Author Image
शुक्रवार, माघ ११, २०७५

शान्तिनगर ।

अमेरिका र झापा निवासी २ युवाले राष्ट्रिय विजय माध्यमिक बिद्यालयका कक्षा बालशिक्षा देखि कक्षा–५ सम्मका विद्यार्थीहरुलाई शैक्षिक र खेलकुदका सामाग्री प्रदान गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा रहेको उक्त विद्यालयमा शुक्रवार ११ बर्षदेखि अमेरिका बस्दै आएका भगवत फुयाँल र बिर्तामोड–६ निवासी लिलिस ओढारीले करीव २२ हजार रुपैयाँ बरावरको शैक्षिक र खेलकुद सामाग्री प्रदान गरेका हुन् ।

विद्यालय परिषरमा आयोजित कार्यक्रममा दाता फुयाँल र ओढारीले कक्षा बालशिक्षा देखि कक्षा–३ सम्मका ३० जना विद्यार्थीलाई स्कुल ब्याग र कपी, पेन्सील प्रदान गरेका छन् भने कक्षा–४ र ५ का विद्यार्थीलाई जमेट्रि बक्स र कपी प्रदान गरेको बिद्यालयका प्रधानाध्यापक रामप्रसाद तिम्सीनाले जानकारी दिए । उनीहरुले ३० थान ब्याग, ५ दर्जन पेन्सील र १० दर्जन कपी विद्यार्थीहरुलाई प्रदान गरे ।

साथीको विवाहको अवसरमा नेपाल आएका फुयाँल भुटानी शरणार्थी हुन् । उनी ११ बर्षअघि बेलडाँगीबाट परिवार सहित अमेरिका पुगेका हुन् । अमेरिकामा आफ्नै ब्यवसाय सञ्चालन गर्दै आएका फुयाँलले विर्तामोडका ओडारीसंग समन्वय गरी बुद्धशान्ति पुगेर उक्त विद्यालयका विद्यार्थीलाई शैक्षिक र खेलकुद सामाग्री वितरण गरेका हुन् । कार्यक्रममा उनीहरुले आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक कामहरुमा सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

सो कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्णप्रसाद अर्याल, पूर्व–प्रअ मानवहादुर आङ्देम्वे, सल्लाहाकार समितिका सदस्य, शिक्षक÷शिक्षिका र पत्रकार दीपेन लावती लगायतको आथित्य रहेको थियो । ब्याग र कपी पाएपछि विद्यालयका विद्यार्थीहरुले खुशी ब्यक्त गरेका छन् । दाता फुयाँल र ओढारीलाई फुलमाला र अविर लगाई सम्मान तथा स्वागत गरिएको थियो । दुवै जना दातालाई विद्यालयले धन्यवाद ज्ञापन समेत गरेका थिए ।

Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर