तेह्रथुम,

तेह्रथुम लालीगुराँस नगरपालिका–२ वसन्तपुर बजारमा बिहीबार साँझ भएको आगलागीबाट पीडित परिवारलाई रु आठ लाख ७५ हजार राहत वितरण गरेको छ ।

लालीगुराँस नगरपालिकाले आगालागीबाट पूर्णरुपमा घर क्षति भएका लालबहादुर याख्खालाई रु चार लाख, घर क्षति भएका मिनकुमारी गुरुङलाई रु दुई लाख र रेनुका खड्कालाई एक लाख लाख ५० हजार तथा पसलमा क्षति पुगेका नेतकुमार याख्खालाई रु एक लाख राहत वितरण गरेको प्रवक्ता देवेन्द्र खड्काले जानकारी दिनुभयो ।

यस्तै घाइते गोपाल गुरुङको उपचारका लागि रु २५ हजार राहत वितरण गरिएको छ । पीडितलाई शुक्रबार साँझ एक कार्यक्रमका बीच नगरप्रमुख अर्जुन माबोहाङ र उपप्रमुख तीला पोखरेलले राहत वितरण गर्नुभएको छ । यस्तै नगरपालिकाकै अगुवाइमा राहत सङ्कलन अभियानसमेत सञ्चालन हुने भएको छ । वसन्तपुर बजारसहित नगरपालिका क्षेत्र र छिमेकी बजारमा समेत राहत सङ्कलन गर्ने कार्यक्रम तय भएको प्रवक्ता खड्काले बताउनुभयो ।

सो आगलागीबाट लालबहादुर याख्खाको ढुङ्गामाटोको गाह्रो र जस्ताको छानो भएको तीनतले घर र अन्य धनमाल पूर्णरूपमा क्षति हुँदा रु ४० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताउनुभयो ।
यस्तै याख्खाको घर भाडामा लिई पसल गर्दै आएका छेतेन शाहको कैलाश किराना पसल पूर्ण रुपमा नष्ट हुँदा रु ३१ लाख क्षति भएको छ । आगो नियन्त्रणका क्रममा छिमेकी मीनकुमारी गुरुङको दुईतले कच्ची घर भत्काइँदा रु २५ लाख र रेनुका खड्काको घर भत्काउँदा रु २० लाखको क्षति भएको मुचुल्का गरिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
यस्तै नजिकैको घरमा पसल गर्ने नेतकुमार याख्खाको कस्मेटिक पसलमा समेत रु पाँच लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घाइते भएका गोपाल गुरुङको हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ करीब पौने ५ बजे मकलमा आगो तापेर बसेका व्यापारी छेतेन शाहको पसलबाट आगो निस्किएको थियो ।
स्थानीयवासीले सडकमा रहेका खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणमा सक्रियता देखाएका थिए । स्थानीय पहल, दमकल र डोजरको सहायताका कारण आगलागीबाट ठूलो क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । आगलागी बिहिबार साँझ करीब छ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।

