Aamsanchar

कनकाईमा डिलाइट इञ्जिनियरिङको शाखा

Author Image
शनिवार, माघ १२, २०७५

सुरुङ्गा।

कनकाई नगरपालिकामा डिलाइट इञ्जिनियरिङ कन्सल्टेन्सीको शाखा विस्तार भएको छ । भद्रपुरमा प्रधान कार्यालय रहेको उक्त कन्सल्टेन्सीको शनिवार कनकाई नगरपालिका–१ कालीमुडास्थित नगरपालिकाको कार्यालय अगाडि शाखा स्थापना भएको हो ।

सुरुङ्गा क्षेत्रका दुई युवा इञ्जिनियरहरु जीवविक्रम घिमिरे र रुपेश कार्कीले सो शाखा स्थापना गरेका हुन् । उक्त कन्सल्टेन्सीले निजी तथा सार्वजनिक घर, विद्यालय, स्वास्थ्य चौकी आदिको भवन, पुल, बाटो लगायतका भौतिक संरचना निर्माणका लागि इञ्जिनियरिङ नक्सा, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण लगायतका परामर्श सेवा प्रदान गर्ने जानकारी दिइयो ।

कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरियाको अध्यक्षतामा भएको कार्यक्रममा झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य माननीय हीराकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नं. १ का सदस्य समेत रहेका सभासद् थापाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानमा युवा इञ्जिनियरहरुले जनतालाई सहज र सुलभ रुपमा भौतिक संरचना निर्माणका लागि सेवा प्रदान गरी विश्वसनीय संस्थाको रुपमा स्थापित हुन शुभकामना दिए ।

कार्यक्रममा कनकाई माविका पूर्व प्रधानाध्यापक निर्मलकुमार खतिवडा, सञ्चारकर्मी तीर्थराज खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कनकाई माविका सहायक प्रधानाध्यापक कर्णबहादुर डाँगी, मितेरी बैंक सुरुङ्गाका प्रतिनिधि सुरज सुवेदी, मर्निङ ग्लोरी अंग्रेजी विद्यालयका शिक्षक सागर लुइँटेल, साहित्यकार गोविन्दप्रसाद घिमिरे, शिक्षाकर्मी साजनकुमार लिम्बू लगायतको आतिथ्य रहेको कार्यक्रममा रुपक कार्कीले औचित्यसहित स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम कृष्णप्रसाद गौतमले सञ्चालन गरेका थिए ।

Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर