Aamsanchar

स्वीटर र शैक्षिक सामग्री पाँउदा फुरुङ्ग विद्यार्थी

Author Image
शनिवार, माघ १२, २०७५

अमित खम्बू / अर्जुनधारा।

चिसो मौसमसँगै अचानक पर्न गएको सिमसिम पानीले चिसाएको वातावरणमा रमाइरहेका विद्यार्थीहरु आफ्नै शैलीमा मस्त देखिन्थे ।

उनीहरुको त्यही शैलीमा रमाइरहेका दृश्यावलोकन गर्दै कार्यक्रमका सहभागी विशेष अतिथि, अतिथिसँगै अभिभावकहरु खुशी देखिन्थे । त्यही क्रममा पारिलो घामको प्रकाशका कारण मौसम उघरिँदै जाँदा कार्यक्रम सञ्चालक बिमल कट्टेलबाट कार्यक्रम शुरु भएको संकेत हुन्छ ।

माथिको दृश्य ईलाम जिल्लाको देउमाई नगरपालिका–७ नामथलास्थित आदर्श सिद्ध आधारभूत विद्यालयमा शुक्रबार आयोजित स्वीटर तथा शैक्षिक सामग्री वितरण समारोहको हो । सो समारोह जुराईदिने संस्था हो झापाको बिर्तामोड–१स्थित श्रीअन्तु प्रकाशन प्रा.लि.द्धारा प्रकाशित पूर्वाञ्चल दैनिक पत्रिका ।

बा¥हैमासजसो हुने चिसो मौसममा पौठेजोरी खेल्दै अध्ययनको लागि सो विद्यालयसम्म धाउनुपर्ने विद्यार्थीहरु उक्त सामग्रीहरु पाउँदा फुरुङ्ग देखिन्थे । वितरण गरिएको एक सय २५ थान स्वीटर भारतको पानीट्याङकीस्थित निशान्त मोटर वर्कसप र बिर्तामोड–४स्थित सजिलो बचत तथा ऋण सहकारी संस्थाको सामाजिक सुरक्षा कोषमार्फत् तथा स्टेसनरी सामग्रीहरु बिर्तामोड–१स्थित बुद्ध स्मृती बोर्डीङ स्कूल र बिर्तामोड निवासी औषधी व्यवसायी घनेन्द्रराज खनालमार्फत् उपलब्ध भएको पत्रिकाका व्यवस्थापक चन्द्रकान्त ढकालले जानकारी दिए ।

आफ्नो जन्मस्थानमा रहेको विद्यालय जहाँ अध्ययन गर्न दुई चार दिन विद्यालयमा पुगेको अनुभव सुनाएका व्यवस्थापक ढकालले विद्यालयलाई आवश्यक अन्य सहयोगको लागि सधैं पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आमा हरिमाया ढकालले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको रकममध्ये प्रत्येक वर्ष विद्यार्थीको छात्रवृत्तीका लागि पाँच हजार रुपैयाँका दरले विद्यालयलाई प्रदान गर्ने र त्यस कार्यलाई निरन्तरता दिने उनले उद्घोष गरेका थिए ।


त्यसैगरी दाताद्धय सजिलोका सञ्चालक समिति सदस्य एवम् पत्रिकाका प्रकाशन सहयोगी व्यवसायी ओमप्रकाश लूँइटेल, औषधी व्यवसायी खनाल, पत्रिकाका कार्यकारी व्यवस्थापक होमप्रकाश अधिकारीले आगामी दिनमा विद्यालयलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए । दाताहरुले उपलब्ध गराउने सामग्रीहरुको कारण विद्यालयलाई आफ्नो शैक्षिक गुणस्तर सुधार गर्न चुनौतीसँगै प्रोत्साहन मिल्ने समारोहका अतिथि खान्द्रुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक काजीमान लिम्बूले बताए ।

त्यस्तै युवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख रुपेन्द्रप्रसाद न्यौपानेले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मोन्टेसरीमा आधारित अङग्रेजी माध्यमको तालिम, बालमैत्री कक्षा कोठा निर्माणलगायतका कार्यहरु शाखामार्फत् भएको बताए । दाताले उपलब्ध गराउने सहयोग सामग्रीहरुले विद्यालयलाई थप सहयोग मिल्ने हुँदा दाताहरुको उक्त कार्यको उनले प्रशंसा गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर चौलागाईंको अध्यक्षता र वडाध्यक्ष भक्तबहादुर लिम्बूको प्रमुख आतिथ्यमा आयोजित समारोहमा जग्गादाता कृष्णमाया कट्टेललाई दाताहरुकोतर्फबाट दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक योगप्रसाद ढकालले विद्यालयको गतिविधिसहित दाताहरुप्रति धन्यवाद व्यक्त गरेको समारोहमा विद्यालय व्यवस्थापन समितिकी सदस्य कमला ढकाल, शिक्षक अभिभावक संघका सदस्य खेन्द्रप्रसाद घिमिरे, गम्भिर पोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक कोषबल्लभ रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेको समारोहमा स्वागत शिक्षक ठाकुरप्रसाद घिमिरेले गरेका थिए ।

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर