सुरुङ्गा ।

चम्पापुर युुवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिलासहित ५१ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा घैलाडुब्बाको सहआयोजना र कनकाई नगरपालिका, वडा समिति कनकाई वार्ड नं. ६, नव चेतना बाल क्लब, पशुपति प्राथमिक विद्यालय बा¥हदशी–७, कनकाई नगर बाल सञ्जाल, चम्पापुर मावि र पारिजात शिक्षा निकेतनको सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रमको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ३७ औं पटक रक्तदान गर्दै उद्घाटन गरेका थिए ।

चम्पापुरस्थित गायन्त्री मन्दिर परिसरमा शहीद सप्ताहको अवसरमा आयोजित ‘रगत दिएर मरिन्न, रगत नपाएर मरिन्छ’ भन्ने नाराका साथ रक्तदान कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. ६ का कार्यवाहक अध्यक्ष ताराप्रसाद फुयाँल र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका मन्त्री चन्द्रप्रसाद चुडालको विशेष आतिथ्य रहेको थियो ।



चम्पापुर युवा क्लबका अध्यक्ष रेवत भट्टराईको सभापतित्व रहेको कार्यक्रममा सदस्य हेमन्त दाहालको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव फणिन्द्र गिरीले गरेका थिए ।

