Aamsanchar

९४ लाखको लागतमा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’

Author Image
आइतवार, माघ १३, २०७५

बनियानी, 

झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वनको हाताभित्र रहेको भुटानी शरणार्थी शिविरमा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’ निर्माण हुने भएको छ ।

तेस्रो देशमा पुनःस्थापित शरणार्थीको स्मृतिमा वनको खण्ड ५ को १० कठ्ठा जमीनमा रु ९४ लाखको लागतमा सो बगैँचा निर्माण हुन लागेको हो । सो क्षेत्रमा विसं २०४८ देखि २०६८ सम्म भुटानी शरणार्थीले बसोवस गरेका थिए ।

उक्त बगैँचा सन् २०२० सम्ममा निर्माण गरिसक्ने लक्ष्य रहेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । ‘ बगैँचाका लागि प्रदेश सरकारले यस पटक रु १० लाख प्रदान गरेको छ’, उहाँले भन्नुभयो, “नगरपालिका र अन्य पक्षसँगको सहकार्यमा निर्धारित समयमै बगैँचा निर्माण गरिने छ ।”

भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना भएपछि सो क्षेत्रको सरकारको पर्यापर्यटन नीतिअनुरुप पर्यटकीय स्थल बनाउन लागिएको नगरप्रमुख रानाले बताउनुभयो ।

दुई सय मिटर लम्बाइ, १६० मिटर चौडाइको सो बगैँचाका लागि इञ्जिनीयर लोकबहादुर तामाङले लागत इस्टिमेट तयार पार्नुभएको हो । बगैँचाको बीचमा पोखरी र त्यसमा चार वटा पुल, स्मृति स्तम्भलगायत पूर्वाधार निर्माण गर्नाका साथै शरणार्थीको इतिहास नेपाली र अङ्ग्रेजी दुबै भाषामा लिपिबद्ध गरेर राखिने जनाइएको छ ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर