झापा ।

पूर्व प्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा सम्लग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तत्कालीन पृथ्वीनगर – ८ निवासी ५० वर्षीय श्रेष्ठको २०७१ साल चैत ३० गते राति डाका समूहले गोली प्रहार गरी हत्या गर्दै घरबाट १ लाख ८० हजार नगद र १० तोला सुन लुटेर लगेका थिए । आइतवार राति पौने एक बजे २० जनाभन्दा बढीको संख्यामा आएको डाका समूहले गोली प्रहार गर्दा श्रेष्ठको मृत्यु भएको थियो ।

पूर्व प्रहरी हवल्दार श्रेष्ठको घरमा प्रवेश गरेको डाका समूहले उनलाई गोली हानेपछि लुटपाट गरेको थियो । सो समयमा डाका समूहले गाउँमा हवाइ फायर र बमसमेत विष्फोट गराएको थिए ।

पक्राउ परेका आलमलाई जिल्ला अदालत झापामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो ।

