अर्जुनधारा।
हात्तीपाइले रोगको जोखिम रहेको सम्पूर्ण जिल्लाहरुमा यस वर्ष पनि राष्ट्रिय आम औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको छ ।
हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामानै पूर्णरुपमा निको हुनका लागि उक्त रोगको जोखिम रहेको जिल्लाहरुमा सो कार्यक्रम सञ्चालन हुन लागेको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखाद्धारा सोमबार आयोजित रोग निवारण कार्यक्रम अन्र्तगत नगरपालिकास्तरिय योजना तर्जुमा गोष्ठीमा बताइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष पाँचथर, इलाम, झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दीया, कैलाली र कञ्चनपुरमा उक्त कार्यक्रम सञ्चालन गरिने महाशाखाको पत्रमा उल्लेख गरिएको छ ।
आगामी फाल्गुन १५ गतेदेखि शुरु हुने कार्यक्रममा यसपटक भने विगत वर्षझैं स्वमंसेवीका नभई राष्ट्रिय नीति अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीहरु परिचालन हुने शाखा प्रमुख मुकुन्द बस्नेतले बताए । “बुथमा एक दिन र बाँकी ६ दिन घरदैलो अभियान सञ्चालन गरी सेवन गराइने छ ”–उनले भने ।
६३ हजार जनसंख्या रहेकोमा ८० प्रतिशतलाई औषधि सेवन गराउने लक्ष्य लिएको शाखाले ३० जना स्वास्थ्यकर्मीलाई तालिम दिने बताइएको छ । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयले योजना तर्जुमा गर्दै गरेकोमा स्वास्थ्य कार्यालय स्थानीय तहमा गएकाले नगरस्तरीय योजना तर्जुमा गरि शाखाका सहायक प्रमुख मिश्रीलाल शर्माले बताए । उनको अनुसार स्वास्थ्यकर्मी, वडास्तरीय, नगरस्तरीय र स्वयम्सेविकास्तरमा गोष्ठी सञ्चालन गरिनेछ ।