अर्जुनधारा।

हचुमासा सामुदायिक वन उपभोक्ता समूह अर्जुनधारा–१को २१औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

समूहका अध्यक्ष युवराज लोहारको अध्यक्षता र डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष सन्तबहादुर मगरले गरेका थिए ।

“हचुमासा सामुदायिक वनको सर्वाङगीण विकासको लागि हाम्रो प्रतिबद्धता, जैविक विविधता संरक्षण र सामाजिक, आर्थिक विकासमा दुरदर्शीता” भन्ने मुख्य नारासहित आयोजित सभामा समूहका कार्यालय सचिव श्रीप्रसाद नेपालले समूहको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा समूहको गत आर्थिक वर्ष ०७४÷०७५को जम्मा आम्दानी एक करोड ६३ लाख नौ हजार चार सय ११ रुपैयाँ २७ पैसा, जम्मा खर्च एक करोड ६० लाख ९५ हजार नौ सय १९ रुपैयाँ ५८ पैसा र जम्मा बचत दुई लाख १३ हजार चार सय ९१ रुपैयाँ ६९ पैसा उल्लेख गरिएको छ । त्यसेगरी समूहले चालु आर्थिक वर्ष ०७५÷०७६को लागि एक करोड ६७ लाख ९२ हजार सात सय १५ रुपैयाँ ६९ पैसा बराबरको अनुमानित वार्षिक कार्यक्रम तथा नीति प्रस्तावित गरेको छ ।


जसमा वन विकासतर्फ २७ लाख ३१ हजार नौ सय २३ रुपैयाँ ९२ पैसा, गरिबी न्यूनिकरणतर्फ ३८ लाख २४ हजार छ सय ९३ रुपैयाँ ४९ पैसा, प्रशासनिक खर्चतर्फ १६ लाख ३९ हजार एक सय ५५ रुपैयाँ ३५ पैसा, काठदाउरा संकलनतर्फ १० लाख ९२ हजार छ सय ७६ रुपैयाँ ६९ पैसा, भैपरी तथा विविधतर्फ दुई लाख १८ हजार पाँच सय ५३ रुपैयाँ ९१ पैसा र दायित्वतर्फ ५८ लाख ६५ हजार २० रुपैयाँ उल्लेख गरिएको छ ।
सोही सभामा विभिन्न व्यक्तित्वहरुलाई नगदसहित सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा गत वर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने सिंहदेवी माध्यमिक विद्यालयकी छात्रा भूमिका मगर, गत वर्षको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने गणेश आधारभूत विद्यालयका छात्र निर्मल आचार्य, उत्कृष्ट टोल ११ र १९का संयोजकद्धय टीकाराम पौड्याल र रणबहादुर बाँनिया र उत्कृष्ट कर्मचारी नरेन्द्र वेघा रहेका छन् । त्यस्तै सभामा सब डिभिजन वन कार्यालय सुरुङ्गाका सहायक वन अधिकृत एकराज दाहाललाई सम्मान पत्रसहित मायाको चिनोबाट सम्मानित गरिएको थियो ।

सभामा वडाध्यक्ष गजाधर खतिवडा, नेपाली काँग्रेसका वडा सभापति खगेन्द्र काफ्ले, समूहका संस्थापक अध्यक्ष प्रेम खत्री, पूर्व अध्यक्ष रामबहादुर निरौला, सल्लाहकार सदस्य विजेन्द्र एक्तेन, शंकराचार्य शक्तिपीठका अध्यक्ष केदारनाथ खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभाको सञ्चालन सचिव प्रभा नेपाल र कार्यालय सचिव नेपालले गरेका थिए ।

