काँकरभिट्टा।

एक्स–रे मेसिन आफू अनुकूल सञ्चालन गरेपछि पूर्वी नाका काँकरभिट्टाबाट अवैध रुपमा सामान भित्रिने क्रम बढ्दै गएको छ ।

सीमा क्षेत्रमा हुने अवैध सामान ओसारपसार नियन्त्रण गर्न पूर्वी नाका काँकरभिट्टामा गत असारमा एक्स–रे मेसिन सञ्चालनमा ल्याए पनि त्यसको प्रयोगमा मेची भन्सार कार्यालयले चासो नदिँदा नेपालमा प्रतिबन्धित सामान भित्रिरहेको प्रहरीले जनाएको छ । प्रहरी श्रोत भन्छ– ‘मेची भन्सारले एक्स–रे मेसिन सञ्चालन गरेपनि दिनहुँ चेकिङका क्रममा अबैध सामान फेला पर्छ ।’

प्रवेशद्वारमा यात्रुलाई सहज तरिकाबाट चेकजाँच गर्न र शंकास्पद सामानलाई मेसिनद्वारा स्क्यान गरिने मेसिन कर्मचारीले मनखुशी सञ्चालन गर्दा यसको प्रभावकारितामा नै प्रश्न उठ्न थालेको छ । सशस्त्र र जनपद प्रहरीले दैनिक भन्सार छलीका अवैधसामान पक्राउ गर्नु र सोमवार आमसञ्चारकर्मी काँकरभिट्टास्थित यात्रु जाँचपास कक्षमा पुग्दा कर्मचारी नहुनुले पनि आफूखुशी सञ्चालन गरिने कुरा पुष्टि गरेको छ । यात्रु जाँच पास कक्षमा ६ जना कर्मचारी कार्यरत रहे पनि उनीहरुले एक्स–रे मेसिन बन्द गरेर पोके व्यापारीसँग रकम असुल्न व्यस्त रहनुले कर्मचारीकै मिलेमतो हुनसक्ने यात्रुहरुले बताएका छन् ।

भन्सार विभागबाट दुई वर्ष अघि नै मेची भन्सार कार्यालयमा ल्याएको उक्त मेसिन गत असारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको थियो । करिब एक करोड मूल्य बराबरको सो मेसिनमा एक्स–रे गर्दा अवैध वस्तु भए तत्काल देखिने भए पनि कर्मचारीले नै मेसिन बन्द गरेर हिँड्दा अवैध सामान भित्रिने खतरा रहेको भन्दै सशस्त्र प्रहरीका एक जवान भन्छन्– ‘कानूनले प्रतिबन्ध गरेका बस्तु लागूऔषध, बिस्फोटक पदार्थ, हातहतियार र मादक पदार्थ भित्रिन सक्ने सम्भावना छ ।’
खुल्ला सीमानाका कारण अवैध हातहतियारको कारोवार हुन सक्ने क्षेत्रमा भन्सार कार्यालयले एक्स–रे मेसिन सञ्चालनमा ल्याए पनि त्यसको नियमन र प्रभावकारितामा ध्यान नदिँदा यसको वैधानिकतामा नै प्रश्न उठेको छ ।
यस विषयमा मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकारी टेकबहादुर अर्यालसँग वुझ्दा उनले कहिले दक्ष प्राविधिकको अभाव त कहिले बिग्रिएर एक्स–रे मेसिन नियमित सञ्चालनमा आउन नसकेको स्वीकारेका छन् । उनले दक्ष कर्मचारी नभएका कारण अन्दाजको भरमा मात्र मेसिन सञ्चालन गर्नु परेको खुलासा गरे । उनले भने– ‘यसका लागि छुट्टै कर्मचारी छैनन्, दरवन्दी पनि छैन, हामीले विभागसँग कर्मचारी माग गरेका छौं अहिले यही भित्रकै कर्मचारीबाट काम चलाई रहेका छौं ।’
यस अघि आफू अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत रहेको र उक्त ठाउँमा सञ्चालनमा रहेका एक्स–रे मेसिनको प्रयोगको आधारमा पूर्वी नाका काँकरभिट्टामा पनि मेसिन सञ्चालन गरेको भन्सार प्रमुख अर्यालले बताए । उनले भने– ‘अबैध कारोवार नहोस् भन्दै तर्साउनकै लागि भए पनि एक्स–रे मेसिन प्राविधिक नहुँदा पनि सञ्चालन गरिरहेका छौं ।’
बिगत लामो समयदेखि काँकरभिट्टाको प्रवेशद्वार दक्षिणतर्फ राखिएको एक्स–रे मेसिन सञ्चालनमा नरहेको सूचना पाएपछि आमसञ्चारकर्मीको टोली सोमवार विहान ११ बजे त्यहाँ पुगेको थियो । त्यहाँ कार्यालय सहयोगी राकेश झा बाहेक भन्सारले खटाएका कोही पनि कर्मचारी थिएनन् । सशस्त्र प्रहरी र जनपद प्रहरीले यात्रुको झोला छामछुम गर्दै पठाइरहेका थिए । त्यहाँ खटिएका एक जनपद प्रहरीले पत्रकारलाई फोट खिच्न समेत रोक्न प्रयास गरेका थिए ।
पूर्वी नाकामा एक्स–रे मेसिन सञ्चालन नहुनु, सशस्त्र र जनपथले पोके व्यापारीको सामान चेकजाँच गर्नु र पत्रकारलाई फोटो खिच्न समेत रोक्ने प्रयत्न गर्नुले काँकरभिट्टा नाकामा अवैध रुपमा रकम असुली हुने गरेको पुष्टि हुन्छ । करोडौ रुपैयाँ पर्ने एक्स–रे मेसिन राखिए पनि नियमित प्रयोगमा नल्याउँदा काँकरभिट्टा नाकाबाट अवैध कारोवार हुने गरेको बताइन्छ । नाकाको निगरानी गर्न ३२ वटा सीसी क्यामेरा जडान गरे पनि यात्रुको आवागमन हुने क्षेत्रमा जडान गरिएका सीसी क्यामरा सञ्चालनमा नरहेको पाइएको छ ।
राजश्व २२%ले वृद्धि
मेची भन्सार कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्षको सात महिनामा ५ अर्ब २५ करोड ६६ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
भन्सार कार्यालयले गतआर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३० करोड ४४ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । गत वर्षको तुलनामा ९५ करोड २१ लख ९६ अर्थात् २२ प्रतिशतले राजश्व असुलीमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत टेकवहादुर अर्यालले बताए ।
उनका अनुसार यस आर्थिक वर्षमा पेट्रोलियम पदार्थ , कोइला, क्लिङकर, जुस, टेलिभिजन सेटहरु, जुत्ता, प्लाइउड, रेजिन र टायल्स धेरै भित्रिएका छन् । जसमा पेट्रोलियम पदार्थबाट सबैभन्दा बढी राजश्व संकलन भएको छ ।
त्यस्तै पूर्वी नाका काँकरभिट्टा हुँदै चिया, कर्कटपाता, मुसुरोदाल, अलैंची, अम्लिसो कुचो, तामाको तार, र प्लाष्टिकको विर्काे सवैभन्दा धेरै नियात हुने वस्तु रहेको भन्सार अधिकारी अर्यालको भनाइ छ ।

