Aamsanchar

इलाम घुम्न जाने पर्यटक बढे/ छ महिनामा ९५ हजार ५२ जना इलाम पुगे

Author Image
मङ्गलवार, माघ १५, २०७५

दिपेन लावती/ शान्तिनगर ।

पूर्वी नेपालको सुन्दर नगरी इलाम घुम्न जाने पर्यटकको संख्या बढेको छ ।  चालू आर्थिक बर्षको छ महिना (साउनदेखि पुससम्म) गत तीन आर्थिक बर्षको तथ्याङ्कको भन्दा बढी पर्यटकले इलामको विभिन्न स्थानको भ्रमण गरेका छन् ।

इलामको रोङ गाउँपालिका–४ स्थित पर्यटन सूचना केन्द्रका अनुसार चालू आर्थिक बर्षको छ महिनामा मात्र ९५ हजार ५२ जना आन्तरिक तथा बाह्य पर्यटक इलाम पुगेका छन् ।

यसवर्ष मौसम खुल्ला, घुम्न जाने पर्यटकीय क्षेत्र ब्यवस्थित र अध्ययनका लागि इलाम घुम्न जानेको संख्या यसवर्ष बढेको सूचना केन्द्रका प्रमुख गगन घिमिरेले बताए । उनका अनुसार इलामको कन्याम, श्रीअन्तु, सन्दकपुर, इलाम बजार, फिक्कल, माईपोखरी र पशुपतिनगर जाने आन्तरिक र बाह्य पर्यटकको संख्या उच्च छ ।

आर्थिक बर्ष २०७२÷०७३ मा १४ हजार आठ सय ४० जना इलाम पुगेका छन् । जहाँ तेस्रो देशका दुई सय १७ जना छन् भने अन्य झापा, मोरङ, सुनसरी र भारतका छन् । त्यस्तै, आर्थिक बर्ष २०७३÷०७४ मा ६६ हजार दुई सय ९९ जना छन् । जसमध्ये एक सय ५४ जना तेस्रो मुलुकका छन् ।

यस्तै, आर्थिक बर्ष २०७४÷०७५ मा ९३ हजार नौ सय ७६ जना इलामका विभिन्न पर्यटकीय क्षेत्र घुम्न गएका छन् । त्यसमध्ये एक सय ६४ जना तेस्रो मुलुकका नागरिक छन् । इलाम जाने अधिकांश भारतीय छन् । उनीहरु घुम्न र वनभोजका लागि जाने गरेका छन् । तर, तेस्रो देशका नागरिक भने अध्ययन भ्रमणमा जाने गरेको सूचना अधिकृत घिमिरे बताउँछन् ।

तीन आर्थिक बर्षको तथ्याङ्क हेर्ने हो भने, सबैभन्दा बढी चालू आर्थिक बर्षको छ महिनाभित्रमा छ । यसवर्ष बनभोजका लागि बढी आन्तरिक तथा बाह्य पर्यटक इलाम पुगेका हुन् । चालू बर्षको पुस महिनासम्म ९५ हजार ५२ मध्ये, महिला ४२ हजार चार सय ५४ जना, पुरुष ५३ हजार पाँच सय ९८ जना छन् । ती मध्ये ९४ हजार सात सय ११ जना आन्तरिक पर्यटक छन् भने २६ जना भारतसहित तेस्रो देशका रहेका छन् ।

अलैंची, अदुवा, अर्थोडक्स चिया, ओलन, अकवरे, अम्लिसो र अलैँचीले चिनिएको इलाम जिल्लामा आकर्षक पर्यटकीय क्षेत्रका कारण पर्यटक जाने गरेका छन् । पारिवारीक र साथीभाइसँग रमाइलो गर्न इलामका प्रमुख पर्यटकीय स्थान जाने गरेका छन् । पछिल्लो समय घुम्न, डुल्न र अध्ययन भ्रमणभन्दा शैक्षिक अवलोकन, सहकारी भ्रमण, सहकारी संस्थाको साधारणसभा, स्काउटको क्याम्पिङ जस्ता कार्यक्रम गर्न इलामका विभिन्न ठाउँ जानेको संख्या उच्च रहेको सूचना केन्द्रका प्रमुख घिमिरे बताउँछन् ।

सूचना केन्द्रका अनुसार बसमा जाने आन्तरिक र बाह्य पर्यटकको तथ्याङ्क राख्ने गरिए पनि सानो गाडी, मोटरसाइकलमा जानेहरुको तथ्याङ्क राख्ने गरिएको छैन् । साना गाडी, मोटरसाइकलमा सवार र पशुपति नाकाबाट इलाम छिर्ने पर्यटकको संख्याको तथ्याङ्क नहुदाँ बार्षिक दुई लाखभन्दा बढी पर्यटक इलाम जाने गरेको अनुमान गरिएको छ ।

Views: 439

प्रतिक्रिया (०)

सम्बन्धित खबर