Aamsanchar

सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि

Author Image
शुक्रवार, माघ १८, २०७५

सुर्खेत, 

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि गरेको छ । सुरक्षित सुत्केरी सेवामार्फत आमा तथा नवजात शिशुको स्वास्थ्य जोगाउन नगरपालिकाले भत्ता बढाउने निर्णय कार्यान्वयनमा ल्याएको हो ।

आर्थिक वर्ष २०७४÷७५देखि पञ्चपुरी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन भत्ता थप गर्ने नीति लिएको हो । प्रोत्साहन भत्ता रु दुई हजार वृद्धि भएसँगै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गर्भवतीको सङ्ख्या पनि बढेको पाइएको छ । नगर स्वास्थ्य शाखाका प्रमुख गङ्गादेव पुरीले गर्भवती भएदेखि नियमित जाँच गराउने, परामर्श लिने, स्वास्थ्य संस्थामै सुत्केरी हुन आउनेको सङ्ख्या बढेको बताउनुभयो ।

उहाँका अनुसार आव २०७४÷७५ मा ६७६ र चालू आवको छ महीनाको अवधिमा ३०६ स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा सुरक्षित पनि हुने र भत्ता पनि बढी पाइने हुँदा कार्यक्रम प्रभावकारी बन्न पुगेको उहाँको दाबी छ ।

सङ्घीय सरकारले नियमित गर्भ जाँच गराएवापत रु ८०० र यातायात खर्चवापत रु दुई हजार दिँदै आएको छ । नगरपालिकाको थप रु दुई हजारसमेत गरी सुत्केरीले सम्बन्धित स्वास्थ्य संस्थाबाट रु चार हजार ८०० बुझ्ने गरेका छन् ।

गर्भवतीले गर्भ रहेको चार महीनामा पहिलो छ, आठ र नौ महीनामा गरी कम्तीमा चार पटक जाँच गराउनुपर्दछ । सङ्घीय सरकारले एक पटक गर्भ जाँच गराए रु २०० दिने गरेको छ । नगरपालिकाले भने स्वास्थ्य संस्थामा सुत्केरी हुन आएमा एकमुष्ट रु दुई हजार दिन थालेको छ ।

नगर उपप्रमुख मुक्ति रेग्मीले ग्रामीण बस्तीमा सुत्केरी अवस्थामा पर्याप्त पौष्टिक आहार नपाउने, बालबालिका कुपोषित हुनेलगायतका समस्याका कारण आमा र बच्चाको स्वास्थ्य खतरामुक्त गर्न पोषण भत्ता दिन थालेको बताउनुभयो । “सुत्केरी आमा र शिशुको औषधि उपचार, पोषणयुक्त खानपानमा मुद्दत पुग्ने विश्वासका साथ थप प्रोत्साहन भत्ता दिने व्यवस्था गरेका हौँ”, उहाँले भन्नुभयो, “यसबाट नगरका शतप्रतिशत गर्भवती र सुत्केरी लाभान्वित भएको पाएका छौँ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर