Aamsanchar

समन्वयका अभावमा सरकारी ठेक्कामा समस्या

Author Image
शुक्रवार, माघ १८, २०७५

काठमाडौँ, 

एक दशकभन्दा पुराना ठेक्का सम्झौतालाई कार्यान्वयन गर्ने तदारुकता नदेखाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणसँग सम्बन्धित मन्त्रालय तथा विभागको ध्यानाकर्षण गराएको छ ।

क्रमागतरुपमा देखिएका ठेक्का सम्झौताको अवस्था कुनरुपमा रहेको भन्नेबारेमा समेत सम्बन्धित निकायलाई थाहा नभएको र राज्यको ठूलो धनराशि अलपत्र अवस्थामा रहेको आयोगको ठहर छ ।

सार्वजनिक निर्माणको ठेक्का सम्झौताका शर्तमा समयको पालना, गुणस्तर नियन्त्रण, खर्च नियन्त्रण र सम्झौताको अन्त्यका सम्बन्धमा स्पष्ट शर्त रहेको भए पनि सम्झौताको कार्यान्वयनमा सम्बन्धित सरकारी कार्यालय र निर्माण व्यवसायीलेसमेत ध्यान नदिइएको पाइएको छ ।

ठेक्का सम्झौतामा प्रगति नहुनका कारण सरकारी निकायबीचमै समन्वयको अभाव, निष्क्रिय अवस्थामा रहेका ठेक्कालाई कानूनीरुपमा कारवाही गर्नसमेत चुकेको पाइएको आयोगको ठहर छ ।

यस्तै रुग्ण अवस्थामा रहेका ठेक्का सम्झौताको तुलनामा पूर्वनिर्धारित क्षतिपूर्ति दिनुपर्ने भनिएका आयोजनाकोसमेत कुनै छानविन नभएको र त्यसबाट राज्यलाई ठूलो मात्रामा नोक्सान भएको पाइएको आयोगले जनाएको छ ।

आयोगले दुई वर्षमा सकिने भनेर दिइएको ठेक्का छ वर्षसम्म पूरा भएको छैन । यस्तै गुणस्तरमा समेत ध्यान नदिइएको पाइएको छ । खरीदको पूर्वतयारीविना नै निर्माण कार्यको खरीद सम्झौताका कारणले धेरै नै ठेक्का अलपत्र परेको देखिएको छ । ठेक्का सम्झौता कार्यान्वयन गर्न विभिन्न कारण देखाइ सरकारी कार्यालयले आठपटकसम्म म्याद थप गरेको देखिएको छ । ठेक्का अवधि निर्धारणमा नै त्रुटि र ठेक्का सम्झौतामा शर्तको पालनामा पनि लापरवाही भएको छ ।

आयोगले पछिल्लो समय गरेको अध्ययनमा रु एक खर्ब १८ अर्ब बराबरको एक हजार ८४८ ठेक्का सम्झौतामा समस्या रहेको पाइएको छ । तीमध्ये एक हजार ३२ ठेक्का सम्झौताको म्यादसमेत थप नभएको पाइएको आयोगको निष्कर्ष छ । आयोगले त्यस्ता ठेक्का सम्झौतामा समस्या हुनुका कारण र तथ्यसमेत स्पष्ट खुलाइ कारवाहीको व्यवस्था गर्नसमेत सरकारलाई सुझाव दिएको छ ।

Views: 148

प्रतिक्रिया (०)