अर्जुनधारा।
झापाको अर्जुनधारामा जारी प्रदेश नं.१ स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा माउन्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरी प्रवेश गरेको छ ।
स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज सम्पन्न खेलमा इलाम जिल्ला फुटबल संघलाई २–१ गोलले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
विजयी टिमको लागि खेलको १८औं मिनेटमा पूष्पा चौहनले र ४६औं मिनेटमा हेमा शिवाले गोल गरेका थिए । इलामको लागि खेलको ८औं मिनेटमा जेनीफर राना मगरले गोल गरेकी थिइन् ।
खेलको वूमन अफ दी म्याच सुनसरीकी गोल रक्षक जीना मगर घोषित भएकी थिइन् । उनलाई सुखानी शहीद उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ बरालले नगद दुई हजारबाट पुरस्कृत गरेका थिए ।
सोमबारको खेल कर्णसिंह सोनाम स्पोर्टीङ क्लब ताप्लेजुङ र बसाहा क्लब उदयपुरबीच हुने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए ।