Aamsanchar

एक्टिभ नाइनले पत्रकार सम्मेलनमै नौमति घन्काएपछि…

Author Image
सोमवार, माघ २१, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड ।

एक समय भनिन्थ्यो बाहुनहरुले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त तल्लो जातिले मात्र हो । तर, यो परम्परागत सोच परिवर्तन गदैं झापाका नौ जना व्राह्मण समुदायका नौ जना युवा कस्सिएका छन् ।

नेपाली पोशाक दौरासुरुवालमा ठाटिएका नौ जना युवा अगाडि नौमति बाजाका साथ सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनमा उभिए । एक्टिभ नाइन समुह बनाएर उनीहरु नेपाली मौलिक बाजाको संरक्षणमा जुटेका हुन् ।

हरेक नयाँ काममा हाम्रो हात भन्ने नाराका साथ नौ जना युवाहरुले सुरु गरेको समुहले परम्परागत बाजा,हामी सबैको साझा भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै नौमती बाजाको संरक्षणमा जुटेको समुहका अध्यक्ष गोविन्द निरौलाले जानकारी दिए । दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् ।

सहनाई र नरसिंगा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना बाध्यवादक लोक कलाकारहरुले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाध्यसमूहलाई नौमती बाजा भनिएको हो । सहनाई अर्थात सनई नौमती बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ । फुक्दै पौन फेर्दै यसमा मुरलीमा झैं आठवटा प्वालहरुमा औंला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरुले मात्र बजाउन सक्छन् । इच्छा शक्तिभए जसले पनि यस्ता बाध्यवादक बजाउन सकिने उदाहरण एक्टिभ नाइनले प्रस्तुत गरेको सचिव भानुभक्त खनालले उल्लेख गरे ।

पत्रकार सम्मेलनमा होस गर है साल्टीनी, सालको पात टपरी गाँसेर लगायतका गितमा नौमती बाजा बनाएर छुट्टै रौनकता थपिएको थियो । अध्यक्ष गोविन्द निरौलाले टेम्को, सचिव भानुभक्त खनालले नरसिंहा, सदस्यहरु सुरेश खतिवडाले झ्याम्टा र अर्जुनबहादुर थापाले नगरा बजाएर पत्रकार सम्मेलनमा आफ्नो कला प्रस्तुत गरेका थिए । यस्तै एक्टिभ नाइनका सदस्यहरु मिलन ढकालले दमाहा, बिनोद दाहालले सहनाई, पुण्यप्रसाद खतिवडाले नरसिंहा, रोहितकुमार भट्टराईले सहनाई र झरेन्द्र खतिवडाले ढोलक बजाएर व्यवसायिक क्षेत्रमा पनि आफूहरु सक्षम रहेको संकेत गरे ।

बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरुमा नरसिंगा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ । लोप हुने अवस्थामा पुगेको बाध्यबाधनलाई संरक्षण गर्दै यसको मौलिकता बचाउनु हामी सबैको दाहित्यव भएकाले आफुहरु यसको संरक्षणमा जुटेको समुहका सचिव खनालले बताए । एक्टिभ नाइनका सदस्यहरुलाई चारपाने निवासी रामचन्द्र दर्नाल र नरेन्द्र दर्नालले प्रशिक्षण दिएका थिए ।

एक्टिभ नाइनले डेढ लाख रुपैयाँ खर्चेर बाजाहरु खरिद गरेको तथा पहिरन एवम् तालिममा त्यत्ति नै खर्च भएको सचिव खनालले जानकारी दिए । उनकाअनुसार व्यावसायिक रुपमा बाजा बजाउन चाहानेले एक्टिभ नाइनलाई दिनको ३० हजार रुपैयाँदेखि माथि पारिश्रमिक दिनु पर्नेछ । आफुहरु मौलिक बाजाको संरक्षण गर्दै अब युवाहरुलाई यो बाजाको प्रशिक्षण समेत प्रदान गर्ने समुहका सदस्य भट्टराईले बताए । यो बाजालाई कुनै एक जाति विशेषको रुपमा हेर्न नमिल्ने भन्दै सबै मिलेर यसको प्रर्वद्धन गर्नुपर्ने समुहका सदस्यहरुको भनाई छ ।

आधुनिक जिवनशैलीसँगै बाजाको तालमा छमछमी नाचिने नौमती बाजा अहिलेका विभिन्न गीत संगितले गर्दा विस्थापित हुँदै गइरहेको अवस्थामा एक्टिभ नाइनले उत्कृष्ठ कामको सुरुवात गरेको संगित क्षेत्रका अगुवाहरुको भनाई छ ।

Views: 428

प्रतिक्रिया (०)

सम्बन्धित खबर