अर्जुनधारा।
झापाको अर्जुनधारामा जारी प्रदेश नं.१स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको फाइनलमा पारिजात महिला फुटबल क्लब झापा पुगेको छ ।
स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा माउण्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीलाई ४–० गोलले पराजित गर्दै झापा फाइनलमा पुग्न सफल भएको हो ।
विजयी टिमको लागि खेलको चौथो, १२औं र ६१औं मिनेटमा गोल गर्दै संरचना श्रेष्ठले ह्याटरीक पूरा गरेकी थिइन् । थप गोल खेलको ४८औं मिनेटमा सुनसरीकी सुस्मिता राईले आत्मघाती गोल गरेकी थिइन् ।
खेलको वूमन अफ दी म्याच विजेता टिमकी संरचना श्रेष्ठ घोषित भएकी थिइन् । उनलाई झापा जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले नगद दुई हजारबाट पुरस्कृत गरेका थिए ।
बुधबार(भोली)को अन्तिम सेमिफाइनल खेल कनकाई नगर खेलकुद समिति झापा र कर्णसिंह सोनाम स्मृती स्पोर्टीङ क्लब ताप्लेजुङबीच हुने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए ।