गाउँको शैक्षिक विकासमा करोड बजेट – अब ब्याख्यान विधिले चल्दैन – अध्यक्ष राजवंशी

डाँगीवारी।



निजी विद्यालयको तुलनामा झापामा सञ्चालित सामुदायिक विद्यालयपनि कम छैनन् । कतिपय निजी विद्यालयले त सामुदायिक विद्यालयको सिको थालेका छन् । अंग्रेजी माध्ययबाट पठन पाठन शुरु गरेसंगै सुधार भएको क्षैक्षिक गुणस्तर विद्यालयमा आयोजना गरिने विज्ञान प्रर्दशनी सहित अन्य अतिरिक्त क्रियाकलावका कारण पनि सामुदायिक विद्यालयले फड्को मारेका छन् ।


कितावी ज्ञान अनि घोकन्ते शिक्षाले मात्रै विद्यार्थीको चौतर्फी विकास नहुने भएपछि सामुदायिक विद्यालयले सिकाइलाई थप उपलब्धी मूलक बनाउन अपनाएको नयाँ रणनीतिले सामुदायिक विद्यालयको क्षैक्षिक गुणस्तर सुध्रिदै गएको छ । अहिले हरेक सामुदायिक विद्यालयले प्रयोगात्मक अभ्यास गराई विद्यार्थीलाई सिकाई प्रति अभिरुची जगाउन विद्यालयमा अतिरिक्त क्रियाकलाव गराउँदै आएका छन् । जसका कारण विद्यालयको शैक्षिक गुणस्तर सुध्रदै गएको वाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको भनाई छ ।
कितावी ज्ञान आर्जन गरेका विद्यार्थीले के कति सिके त्यसको मापन गर्ने विधि नै उपयुक्त नभएका कारण सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी पछि परेका थिए । तर, अहिले उनीहरुलाई प्रयोगात्मक कार्यमा प्रत्यक्ष सहभागी गराई त्यसबाट विद्यार्थीले के कति सिके त्यसको मापन तुरुन्त गर्न सकिन्छ ।
यस्तो विधिबाट सिकाएका विद्यार्थीले जस्तो सुकै परिथितिमा पनि आफ्नो सिप प्रयोग गरेर जिउन सक्छ । प्रयोगात्मक विधिले विद्यार्थीलाई अध्यापन गराउने हो भने निश्चय नै शैक्षिक गुणस्तर सुध्रिन्छ गाउँपालिका अध्यक्ष राजवंशीले भने –‘ अब ब्याख्यान विधिले चल्दैन, अहिलेको समय विद्यान र प्रविधिको भएकाले सवै विद्यार्थीलाई पढाइप्रति अभिरुची जगाउन प्रयोगात्मक विधि नै अपनाउनु पर्छ ।’
वाह्रदशी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा गत वर्ष करोड रुपैयाँ खर्चेको र चालू वर्षमा पनि कारोड रुपैयाँ नै बजेट विनियोजन गरेको उनको भनाई छ ।

यता गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले वाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयले पछिल्लो दुई वर्षमा शैक्षिक क्षेत्रमा फड्को मारेको दावी गरिन् । उनले भनिन्–‘ केन्द्रीकृत शिक्षा नीतिका कारण ओझेलमा परेको ग्रामीण क्षेत्रको शिक्षाको गुणस्तर सुधारमा स्थानीय तहको भूमिका अहम छ, हाम्रा छोराछोरीलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा अहिले बहस चलेको छ, स्थानीय तह नै अधिकार सम्पन्न भएपछि राम्रा अभ्यास भित्र्एर शैक्षिक गुणस्तर सुधारमा हामी लागेका छौं ।’
वाह्रदशी गाउँपालिकामा ४ माध्यमिक सहित १६ सामुदायिक विद्यालय रहेका छन् । जसमा ५हजार ५०० विद्यार्थी अध्ययनरत छन् । त्यस्तै निजी क्षेत्रका ७ माध्यमिक सहित १३ विद्यालय सञ्चालनमा रहेका छन् । ५ हजार १सय १७ विद्यार्थी अध्ययनरत रहेको श्रोत व्यक्ति छवि वस्नेतले बताए ।
उता झापाको दमकमा हालै बाल महोत्सव सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको महोत्सवमा पनि विज्ञान प्रर्दशनीका सामग्री राखिएको थियो ।
बालवालिकालाई वातावरणीय परिवर्तन र त्यसले वाल मानसपटलमा पार्ने असर, मानव स्वास्थ्यमा पार्ने असर, वालमैत्री स्थानीय शासनमा वालवालिकाको भूमिका, बालप्रतिभा प्रस्फुटन, मनोरञ्जनात्मक क्रियाकलाप, वाल प्रतियोगिता सञ्चालन जस्ता कुराहरुलाई समेत समेट्दै जिल्ला भरिका स्थानीय तह, शिक्षक महासंघ,प्याब्सन, एन।प्याब्सन,हिसान,सामुदायिक विद्यालय, संस्थागत बिद्यालय, वालक्लव लगायत वालवालिकासँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको प्रत्यक्ष संलग्नतामा प्रदेशीक स्तरकै वालवालिकाहरुको क्षमता विकासलाई ध्यानमा राखेर वृहत वाल महोत्सव, सम्पन्न भएको छ ।
हावा र पानीबाटै विद्यार्थीले उडाए रकेट
वाह्रदशी–७ डाँगीवारीमा रहेको गौरीशंकर माविका विद्यार्थीले हावा र पानीबाटै रकेट उडाएका छन् । वाह्रदशी गाउँपालिका शिक्षा शाखाले आयोजना गरेको विज्ञान प्रर्दशनीमा हावा र पानीबाटै विद्यार्थीले रकेट उडाएपछि कार्यक्रममा सहभागी सबै चकित परे ।
गौरीशंकर माविकै प्राङ्गढमा आयोजित विज्ञान प्रर्दशनीमा कक्षा १० मा अध्ययनरत विवेक श्रेष्ठसहितका विद्यार्थीले रकेट उडाउदा अन्य विद्यालयका सहभागी विद्यार्थी र शिक्षक, अभिभावक समेत अचम्ममा परे । कोकको वोतलमा आधा पानी अनि हावाको चाप,रवरको प्यारासुट सहित खुल्ला आकासमा पानी सहितको वोतल फनफनी घुमाउदै उडाउँदा आफू चकित परेको बताउँछन् गाउँपालिका वडा नम्वर – ७ का अध्यक्ष मित्रराज भट्टराई ।

उनी भन्छन्– शिक्षकले सिकाएर मात्रै हुँदैन, विद्यार्थीको सिक्ने रुचीमा भर पर्दाे रहेछ, शिक्षककले सवैलाई वरावर सिकाएको हुन्छ तर, विद्यार्थीको सिक्ने रुची जाग्यो भने शिक्षककले नसिकाएपनि नयाँ कुराको प्रयोग गर्न ऊ लागि पर्छ ।’ वाह्रदशीका विद्यार्थीको प्रयोगात्मक सिप देखेर म छक्क परे अध्यक्ष भट्टराईले भने– सिमित श्रोत साधनबाटै हाम्रा नानीले धेरै ज्ञान आर्जन गर्न सफल भएछन् ।’
यता दीपजन माविमा अध्ययनरत दुई विद्यार्थीले मानव निर्मित यन्त्र (रोवर्ट) बनाएका छन् । कक्षा ९ मा अध्ययनरत क्षितिज आचार्य र कक्षा ८ मा अध्ययनरत गौरव धमलाले बनाएको रोवर्ट समेत विज्ञान प्रर्दशनीमा राखिएको थियो । एड्रिनो रोवर्ट नाम दिइएको उक्त रोवर्ट विद्यार्थीले मोवाइलको सहायताले सञ्चालन गरेर देखाएका थिए । गुगलसंग आवाज कनेक्ट गरेर रोवटलाई काम लगाउन सकिन्छ विद्यार्थी आचार्य भन्छन्–‘हामीसंग श्रोत साधन कम छ , जसका कारण यो रोवर्टलाई पर्याप्त काम लगाउन भने सकिदैन, साधन हुदो हो त हामी काम गर्न सक्ने गरीकै रोवर्ट बनाउन सक्छौं ।’
विज्ञान प्रर्दशनीमा गाउँपालिका भित्र रहेका २९ विद्यालयका विद्यार्थीले आ आफ्नो कला प्रस्तुत गरेको गौरीशंकर मावि डाँगीवारीका प्रधानाध्यापक लेखनाथ कटुवालले बताए । उनले भने – यस खाले विज्ञान प्रर्दशनी हुनु विद्यार्थीका लागि ज्ञानको कुञ्ज नै हुने रहेछ । समय समयमा यस्ता कार्यक्रम आयोजना गर्न सकिए विद्यार्थीले प्राविधिक ज्ञान धेरै लिने रहेछन् ।
गाउँपालिका अध्यक्ष खड्ग प्रसाद राजवंशीले उद्घाटन गरेको कार्यक्रम गौरीशंकर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश झाको सभापतित्वमा भएको थियो । वाह्रदशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश गुरुङले स्वागत गरेको कार्यक्रममा,प्रमुख प्रसाशकीय अधिकृत तुलसीकुमार नेपाल,साविक डाँगीवारी गाविस अध्यक्ष लक्ष्मण पाठक, राजगढ श्रोत केन्द्र अध्यक्ष तोयानाथ पोखरेल,राजवंशी समाज विकास समितिका पूर्व अध्यक्ष टोम राजवंशी,शिक्षा सेवी लेखराज सुवेदी, शिक्षा समिति वाह्रदशी सदस्य खड्गनारायण राजवंशी, शिक्षक महासंघ वाह्रदशी अध्यक्ष कमल चम्लागाई, देवी मावि विर्तामोडका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारी लगायतले विज्ञान प्रर्दशनीको अवलोकन गरेका थिए ।
कार्यक्रमको सञ्चालन गौरीशंकर माविका शिक्षक लोचनकुमार गुरागाईले गरेका थिए ।
उत्कृष्ट विद्यालय
वाह्रदशी गाउँपालिका भित्र रहेका २९ विद्यालय मध्ये उत्कष्ट प्रर्दशन गर्ने चार विद्यालय पुरस्कृत भएका छन् ।
उत्कृष्ट हुने विद्यालयहरुमा आधारभूत १–५ तर्फ जनता प्रावि राजगढ, आधारभूत ६– ८ तर्फ ज्ञानज्योति अंग्रेजी मावि राजगढ र मावि तर्फ दुई विद्यालय उत्कृष्ट भएका छन् । जसमा गौरीशंकर मावि र दीवजन अंग्रेजी मावि उत्कृष्ट घोषित भएका छन् ।

