Aamsanchar

चितवन र नवलपुरमा हुलाकी सडकको काम अगाडि बढाउन माग

Author Image
बुधवार, माघ २३, २०७५

काठमाडौँ, 

चितवन र नवलपुर जिल्लामा तत्काल हुलाकी सडक निर्माणमा सरकारले प्राथमिकता नदिएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

चितवन र नवलपुरमा हुलाकी सडक निर्माणको काम शुरु हुन नसक्दा ती जिल्लाका हजाराँै नागरिक समस्यामा परेको भन्दै सांसद तिलबहादुर महत क्षेत्रीले तत्काल सो राजमार्ग निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।

शून्य समयमा आफ्नो धारणा राख्दै उहाँले गण्डकी प्रदेशको प्रमुख नाकासमेत रहेको कालीगण्डकी करिडोर नवलपुर जिल्लामा जोडिने भएकाले ती दुई महत्वपूर्ण आयोजना अगाडि बढाउन सकिए आर्थिक गतिविधि र विकास निर्माणको प्रक्रियाले गति लिने उहाँको भनाइ थियो ।

पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतिर रहेको बस्तीमा सडक निर्माण हुन नसक्दा स्थानीय जनताले कष्टकर जीवनयापन गर्नुपरेको भन्दै सडक निर्माणको काम अगाडि बढ्न नसकेकामा गुनासो गर्नुभयो ।

उहाँले विकास निर्माणको काममा भइरहेको ढिलाइका कारण समस्या बढेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

यस्तै शून्य समयमा सांसद डिला सङ्ग्रौलाले पूँजीगत खर्च बढ्न नसकेकामा गुनासो गर्नुभयो । वर्तमान सरकारले आर्थिक समृद्धिको लक्ष्य राखेको भए पनि मुलुकको आर्थिक सूचकाङ्क सकारात्मक नभएको, शोधान्तर खाता बढेको तथा उपभोग्य र निर्माण सामग्रीको मूल्य बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै सांसद तेजुलाल चौधरीले नेपाल वायु सेवा निगमले खरीद गरेको दुई वटा वाइडबडीमा भएको भनिएको अनियमितताको सम्बन्धमा गरिएको छानबिन प्रतिवेदनले दोषी देखाइएकालाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न गर्नुभएको थियो ।

स्थानीय तहमा विगतदेखि शुरु भएका साना आयोजनामा सरकारले ध्यान नदिएका कारण करोडौँको लगानी खेर भएको भन्दै सांसद दीलेन्द्रप्रसाद बडूले त्यस्ता आयोजना केन्द्र, प्रदेश र स्थानीय सरकार कसले हेर्ने हो यथाशीघ्र जानकारी गराउन आग्रह गर्नुभयो ।

सांसद पुष्पा भुसालले देशव्यापीरुपमा महिला हिंसाको घटना बढेको र सरकारी निकायले दोषीलाई कारवाही गर्न नसकेको, निर्मला पन्तको बलात्कारपछिको हत्याका सम्बन्धमा हालसम्म कुनै पनि प्रगति हुन नसक्नु दुःखद् रहेको बताउनुभयो ।

सांसद प्रभु साहले सार्वजनिक सवारी साधनमा महिला, ज्येष्ठ नागरिकलाई छुट्याइएको सिटमा आरक्षण नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बालकृष्ण खाँणले आफ्नो पार्टी निकटका नेपाल विद्यार्थी सङ्घका अध्यक्षलगायत कार्यकर्तालाई दुःख दिइएको भन्दै गुनासो गर्नुभयो । उहाँले झुटो मुद्दा लगाइएका विद्यार्थी नेताको मुद्दा तत्काल फिर्ता लिनसमेत आग्रह गर्नुभयो ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर