बिर्तामोड।

झापाको चारपानेमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताले सिप सिकेर स्वरोजगारबन्न आग्रह गरेका छन् ।

सहारा नेपाल चारपाने सेवाकेन्द्रको आयोजनामा भएको सात दिने अचार बनाउने प्रविधि तालिम समापनको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । सहारा नेपाल चारपाने सेवाकेन्द्रको सहयोग समितिकी संयोजक बिन्दु श्रेष्ठको अध्यक्षता तथा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गिरीले तालिम लिएर मात्र नहुने बताउँदै त्यसलाई व्यवहारमा उतारेर उद्यमी बन्न सहभागीलाई आग्रह गरेका थिए । उनले समयको आवश्यकतालाई पहिचान गरेर व्यावसाय सञ्चालन गर्न आग्रह गर्दै उद्योग दर्ता गरेर व्यावसायिक रुपमा व्यावसाय सञ्चालन गरे सहारा नेपालले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा तालिममा सहभागीहरु गीता दाहाल, गोमा सुव्वा, निर्मला रिजाल र पुष्पिता ओझाले अचार बनाउने तालिम फलदायी भएको बताए ।
तालिमको सहजीकरण शिव बाबा अचार उद्योग अर्जुनधारा–९का सञ्चालक तथा अचारविज्ञ दिननाथ शिवाकोटी र अम्विकादेवी शिवाकोटीले गरेका थिए । सात दिनसम्म सञ्चालन भएको तालिममा सहभागी २५ जनालाई मिक्स अचार, कागती, आँप, जल्पाई, अकबरे तामा (सालिभेना), करेला, च्याऊ, अमला लगायतका अचार बनाउन सिकाइएको अचारविज्ञ शिवाकोटीले बताए ।
कार्यक्रममा तालिम संयोजक भरतकुमार पोखरेल, चारपाने सेवाकेन्द्रका कार्यालय प्रमुख जगत कार्की, इलाका प्रबन्धक रामनारायण प्रधान लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्जय राजवंशीले गरेका थिए ।

