दुहागढी।

झापाको दुहागढीमा सञ्चालित बीबीसी इँटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेपछि उद्योग बन्द गर्न माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् ।

उद्योगबाट निस्कने धुलो, धुँवाबाट स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै उद्योग वरपरका जग्गामा कृषकहरुले लगाएका वालीनालीमा समेत क्षति पुगेपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन् ।

विगत १२ वर्षदेखि सञ्चालित सो उद्योगले स्थापना हुँदा स्थानीयबासी र तत्कालीन गाविससँग गरेका कुनै पनि सम्झौता पालना नगरेको स्थानीयबासीले बताएका छन् ।


सम्झौताको पहिलो बुँदामा स्थानीयबासीले प्रदुषण बढेको ठहर गरेमा जुनसुकै बेला उद्योग बन्द गर्नुपर्ने लेखिएको हुँदा सो उद्योग बन्द गर्नुको विकल्प नरहेको संघर्ष समितिका गोपीराज मैनालीले बताएका छन् ।
स्थानीयबासी विश्व थापा, शान्तिराम कडरीया, हरि भुजेल, बद्री महत, कुमार मगर लगायत एक सय ५० भन्दा बढी पीडितहरुले हस्ताक्षर गरी वडा कार्यालयमा उद्योग बन्द गरी पाउँ भनी बुधबार ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै मेचीनगर– १४ का वडा अध्यक्ष शंकरप्रसाद पोखरेलले वडा कार्यालय यस विषयमा गम्भीर बनेको हुँदा वडाबासीको समस्या समाधान गर्ने तर्फ अघि बढ्ने बताएका थिए ।

