Aamsanchar

पूर्वराजाको गाडी नरोकिएपछि…

Author Image
बिहिवार, माघ २४, २०७५

झापा ।

पत्नी कोमल सहित पूर्वराजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि वुधबार अपरान्ह झापा आइपुगेका छन् । बाराको सिमराबाट आफंै गाडी चलाएर पूर्वराजा ज्ञानेन्द्र सपत्नी झापाको हिमालयन महालक्ष्मी चिया बगानमा आएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह निकट श्रोतका अनुसार उनी तीन साता बसाइका लागि झापा आएका हुन् । झापामा उनका कुनै औपचारिक कार्यक्रम तय गरिएका छैनन् । उनकै स्वामित्वमा रहेको हिमालयन महालक्ष्मी चिया बगानभित्रको मिनी दरवारमा ज्ञानेन्द्र पत्नीसहित बस्ने श्रोतले बताएको छ । गत वर्ष पनि पूर्वज्ञानेन्द्र दुई साता सो चिया बगानमा बसेका थिए ।

सिमराबाट झापासम्म आउँदा पूर्वराजा ज्ञानेन्द्र आफैंले सवारी चलाएका थिए । ठाउँ–ठाँउमा उनका समर्थक स्वागतका लागि पूर्वपश्चिम राजमार्गमा फूलमाला लिएर बसे पनि उनले गाडी रोकेनन् । मोरङको बिराट चौकमा स्वागतद्वार नै निर्माण गरेर बसेका सयांै समर्थक पूर्वराजा ज्ञानेन्द्रले गाडी नरोकी अघि वढाएपछि निराश भएका थिए । पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि पूर्वपश्चिम राजमार्गको बिराटचौकमा रातो कार्पेट ओछ्याइएको थियो ।

नेपाली ढाका टोपी, दौरासुरुवाल र राष्ट्रिय झण्डासहित बसेका समर्थकले पूर्वराजा ज्ञानेन्द्रले गाडी नरोकेपछि हातमा लिएको सयपत्रीको माला आफैं लगाएका थिए । सो कार्यक्रम नेपाल बिद्वत परिषद् क्षेत्रीय कार्यसमिति सुन्दरहरैंचा मोरङले आयोजना गरेको थियो । बिहान ११ वजेदेखि सडकमा उभिएकी ५४ वर्षीया धनरानी अधिकारीले पूर्वराजा ज्ञानेन्द्र शाहलार्ई माला लगाइदिन नपाएपछि भुइँमा फालिदिइन् । उनले पूर्वाञ्चलसँग भनिन्– ‘आफ्नै हातले उनेको माला लगाइदिन नपाएपछि फालेकी हुँ ।

दमकको चिया वगान प्रवेशद्वारमा पनि विराटचोक कै जस्तो सयौं समर्थक जिल्लिए । ४ः३५ मा प्रवेशद्वार आइपुगेका पूर्वराजा ज्ञानेन्द्र सिधै मिनी दरवार पसेका थिए । राप्रपा प्रदेश नम्बर १का अध्यक्ष राम थापा लगायतका सयांै समर्थक पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न नपाएपछि यसै फर्किएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र चिया बगान वसुञ्जेल वगानको सुरक्षा सशस्त्र प्रहरीले गर्ने प्रहरी श्रोतको भनाइ छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी श्यामल सुव्बाका अनुसार नेपाल प्रहरीलाई पूर्वराजा ज्ञानेन्द्रको झापा आगमनका बारेमा कुनै औपचारिक जानकारी दिइएको छैन । डीएसपी सुब्बाले भने– ‘हाम्रो नियमित गस्ती हुन्छ नै, सशस्त्र प्रहरीले नियमित सुरक्षा दिने जानकारी पाएको छु ।’

यता जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत महेन्द्रकुमार थापाले पनि पूर्वराजा ज्ञानेन्द्रको औपचारिक कार्यक्रमका वारेमा अनभिज्ञता जनाए ।

समाचार श्रोतका अनुसार ज्ञानेन्द्रले झापा बसाईका क्रममा पूर्व राजावादी संग भेटघाट गर्ने कार्यक्रम छ । बुधबार साँझ पनि उनले दमक आसपासका पूर्वराजावादीसँग भेटघाट र वर्तमान राजनीतिक अवस्थाका वारेमा कुराकानी गर्ने बताइएको छ ।

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर