बिर्तामोड।

झापामा सहकारीमार्फत ४० अर्ब पुँजी परिचालित भएको जिल्ला सहकारी संघ झापाले प्रतिवेदन सार्वजनिक गर्दै जनाएको छ । संघद्वारा प्रस्तुत प्रतिवेदनमा ४५ प्रतिशत यहाँको जनसंख्या सहकारीमा आबद्ध भएको र ठूला परियोजनामा लगानीको आधार तयार भएको उल्लेख छ ।

५ अर्ब रकम उत्पादन तथा व्यवसायिक क्षेत्रमा मात्रै लगानी गर्न योग्य रहेको जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले बताए । अहिलेसम्म सहकारीको लगानी सामाजिक उत्तरदायित्व तथा उद्यमशीलताका क्षेत्रमा मात्रै खुम्चिएको छ– अध्यक्ष ढकालले भने– ‘जिल्ला सहकारी संघले तयार पारेको दस्तावेजमा झापा ५ अर्ब रकम उत्पादन तथा व्यवसायिक क्षेत्रमा लगानी गर्न योग्य छ ।

जिल्ला सहकारी संघ झापाको २२औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले नयाँ सहकारी ऐनमा यसको बिस्तार र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पछाडि पार्ने नियत लुकेको भन्दै सहकारी अभियन्ताहरुले त्यस्ता प्रावधान संशोधन गर्नुपर्ने माग गरे ।


कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार क्षेत्रमा आयोजित कार्यक्रमको उद्घाटन संघीय सांसद पवित्रा खरेलले गरेकी थिइन् । कार्यक्रमको उद्घाटन गर्दै सांसद खरेलले सरकारी र सहकारीको तुलनामा पछिल्लो समय निजी क्षेत्र कमजोर देखिएको बताइन् ।
दक्ष जनशक्ति निर्माण र लगानी परिचालनमा सबै क्षेत्रको साझेदारी जरुरी भएको उल्लेख गरेकी उनले गोजी समस्या नभई दिमाग समस्या भएको बताइन् । ‘मसला,अचार र वेसार हामीले उत्पादन गर्न सक्छौँ’– उनले भनिन्– ‘त्यसका लागि कुटी र उद्योग सञ्चालनले पहिलो प्राथमिकता पाउनुपर्छ ।’
विकासको बहस झापाबाट शुरु भएकोप्रति प्रशन्नता व्यक्त गरेकी उनले हरेक व्यक्तिले ज्ञान लिएर होइन, छाडेर जानुपर्ने सोचको विकास गर्नुपर्नेमा जोड दिइन् । सरकारले के ग¥यो भनेर प्रश्न गर्ने भन्दा पनि सरकारलाई यो काम गर् भनेर निर्देशन दिने हैसियत नागरिकले बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेतीले सहकारी व्यवसायसँग २० अर्ब बचत रहेको बताउँदै २२ अर्बको वासलात रहेको जानकारी दिए । उनले सहकारीमा एक लाख ४१ हजार सदस्य रहेको भन्दै उनीहरुलाई स्वाबलम्बन बनाउनु सहकारीकर्मीको दायित्व भएको जिकिर गरे । स्वाबलम्बन, गरिबी निवारण, युवा स्वरोजगारको रकम सहकारीमार्फत परिचालन गर्न सरकारलाई आग्रह गरेका उप्रेतीले गैरवित्तीय कारोबारलाई सहकारी क्षेत्रले प्राथमिकतामा राखेको बताए ।
सर्वपक्षीय नेतृत्व छानेर अगाडि बढेको बताएका उनले नियमित बचतलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले निजी क्षेत्रसँग सहकार्य गरेर उदाहरणीय बन्न सहकारी अभियन्तालाई आव्हान गरे ।
यता संघको गतिविधिबारे प्रकाश पार्दै संघका अध्यक्ष ढकालले ९ करोड ७६ लाख निक्षेप संघको रहेको बताए । उनले संघको पूँजी १ करोड ६५ लाख १० हजार र ५ करोड ११ लाख ६५ हजार रुपैयाँ लगानी रहेको जानकारी दिए ।
उनले विभिन्न कोषमा ७४ लाख ८७ हजार भन्दा बढी रुपैयाँ रहेको बताए । कार्यक्रममा सहकारी बैंक अध्यक्ष उपे्रती, सञ्चालक महेन्द्रकुमार गिरी र बैंकका लेखा समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो । संघका सचिव युवराज ढकालले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष गीता कुँवरले गरेकी थिइन् ।
संघले झापाको सहकारी अभियानलाई सबैको गौरव र शान बनाउने योजना अघि सारेको छ । सहकारी सूचना तथा स्रोतकेन्द्र निर्माण, व्यवसायिक लगानी, झापा कोप्स स्ट्याण्डर्डको सञ्चालनलाई प्रविधि,नीति र विधि योग्य बनाउने प्रतिबद्धता संघले जनाएको छ ।
निक्षेप, कोष तथा सदस्य बृद्धि समेटिएको भावी कार्यक्रममा संघले सेमीनार तथा सहकारी प्रबद्र्धनका लागि भ्रमणको समेत लक्ष्य राखेको छ । १५ वटै स्थानीय तहलाई सहकारी सञ्चालन कार्यविधि बनाएर चर्चा बटुलेको संघले निर्माणाधीन प्रादेशिक र स्थानीय सहकारी ऐनमा एकरुपता कायम हुनुपर्ने अडान दोहो¥याएको छ । अन्तर्राष्ट्रिय मूल्य मान्यता र दर्शनबाट संघपछि हट्न नसक्ने कार्यक्रममा प्रष्ट पारियो ।

