दमक,।

झापाको हल्दिीबारी गाउँपालिकाले ‘हल्दीबारीको बाचा, झापाभरि माछा’ कार्यक्रम कार्यान्वयन शुरु गरेको छ ।

‘हल्दीबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ मूल लक्ष्य प्राप्ति गर्न यो कार्यक्रम गाउँसभा मार्फत ल्याएको र कार्यविधि अनुसार यसको कार्यन्वयन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले बताए ।
ब्यावसायिक माछा पालन गर्ने किसानले सहकारी संस्थाहरुबाट ऋण लिँदा गाउँपालिका आफै जमानी बसी दिने समेत भएको छ । कृषकलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्न गाउँपालिका जमानी बसी दिन सक्ने गाउँसभाबाट नै पारित यस सम्बन्धिको कार्यविधिमा उल्लेख भएको अध्यक्ष लिङ्देनले बताए ।

यहाँका किसानहरुलाई मत्स्यपालन उद्यम मार्फत व्यावसायिक बनाउँदै उनीहरुको जीवनस्तर अभिवृद्धि गर्दै जाने र आगामी पाँच वर्षभित्र झापा जिल्लालाई नै माछा उत्पादनमा आत्मनिर्भर गराउने सोचका साथ दोस्रो गाउँसभाबाट पारित कार्यक्रम अनुसार किसानहरुको छनौट गरेर कार्यक्रम शुरु गरिएको उनको भनाइ छ ।
गाउँपालिकाबाट अनुदान पाएका गाउँपालिका क्षेत्रभित्र क्रियाशील सहकारी संघ–संस्थाहरुले ऋण लगानी गर्दा गाउँपालिका क्षेत्रभित्र नयाँ माछा पोखरी क्षेत्र विस्तार गर्न चाहने कृषकलाई पहिलो प्राथमिकतामा राखी सहुलियत दरमा ऋण उपलब्ध गराइदिन आवश्यकता अनुसार गाउँपालिका जमानीमा समेत बस्न सक्नेछ भन्ने निर्णय भएको छ– लिङ्देनले भने
गाउँपालिका आफैले त्यस्ता सहकारी संघ–संस्थाहरुलाई ऋण उपलब्ध गराइदिन औपचारिक अनुरोध गर्ने बताइन्छ ।
अनुदान र सहुलियत ऋण र जमानतका लागि किसानहरुलाइ क, ख र ग गरेर तीन बर्गमा वर्गीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । क समूहका कृषक भन्नाले एक विगाह वा सोभन्दा कम खेतीयोग्य जमिन भई परिवारको कुनै पनि सदस्यको सरकारी रोजगारीमा पहुँच नभएका कृषक वा कम्तीमा पाँचजना कृषकहरु आपसमा मिली गठन गरेको दर्तावाल कृषि समूह भएको घिमिरेले बताए ।
ख समुहका कृषक भन्नाले एक बिगाहभन्दा बढी पाँच बिगाहभन्दा कम खेतीयोग्य जमिन भएका कृषक वा दर्तावाल कृषि फर्म वा क समूहमा नपरेका कृषक र ग समूहका कृषक भन्नाले पाँच बिगाहभन्दा बढी खेतीयोग्य जमिन भएका कृषक वा सहकारी संस्थालाई समेटिएको घिमिरेले जनाए ।
यसैबीच माछा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य प्राप्तिका लागि सामुदायिक विद्यालयको स्वामित्वमा रहेका खाली जग्गामा माछा पोखरी क्षेत्र विस्तार गर्न सकिने निर्णय भएको र सो अनुसारको अध्ययन शुरु भएको शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका उपाध्यक्ष डम्बर गिरीले बताए ।
‘अनुदान दुरुपयोग हुने र किसान यसमा अनिच्छुक भएमा आफुहरुको लक्ष्य प्राप्तिका लागि गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयको स्वामित्वमा रहेका जग्गामा माछा पोखरी क्षेत्र विस्तार गरिने छ’– गिरीले भने । ‘सामुदायिक विद्यालयको स्वामित्वमा रहेको जग्गा पहिचान गरी कार्यपालिकामा सिफारिश गर्नेछ र प्राप्त सिफारिशका आधारमा कार्यपालिकाले माछा पोखरी क्षेत्र विस्तार गर्नेछ’–गिरीले भने । हामी अहिले लगत संकलनमा जुटेका छौं’–उनले भने ।
चालू आर्थिक बर्ष ४० जना नयाँ माछापालक र १७ जना पुराना माछापालक कृषकहरुलाई यसमा समावेश गरिएको बताइएको छ । दोस्रो गाउँ सभाले माछापालनका लागि ६० लाख बजेट विनियोजन गरेकोमा नयाँ माछा पोखरी विस्तारका लागि न्यूनतम् तीन कठ्ठादेखि बढिमा १० कठ्ठासम्म १० हजार प्रति कठ्ठाका दरले अनुदान उपलब्ध गराइएको गिरीले बताए ।
यो बर्ष १५ विगाह क्षेत्रफलमा पोखरी विस्तार गर्ने लक्ष्य रहेको र पुराना माछापालक कृषकहरुलाई माछाको दाना बनाउने पिलेट दाना मेसिन, एरिएटर, पिएच मिटर, माहा जाल लगायतका वस्तुगत सामग्री अनुदान दिन लागिएको पनि उनको भनाइ छ ।

