Aamsanchar

कुखुराको मलद्वारले सर्पको विष चुस्दैन

Author Image
बुधवार, फागुन १, २०७५

बिर्तामोड ।

कुखुराको मलद्वारले सर्पको विष चुस्दैन– श्रीनयाँ श्रीनाथ गण चारआलीका जमदार सुरेन्द्र योकपाङ्देन भन्छन्– ‘अझै पनि हाम्रो समाजमा सर्पले डसेको ठाउँमा कुखुराको मलद्वार लगाउँदा जाती हुन्छ भन्ने धारणा छ तर यो धारणा गलत हो ।’

सर्पले डसेमा यसको औषधि ‘एन्टी स्नेक भेनम सिरस’ मात्रै हो– उनी भन्छन्– ‘कसैलाई सर्पले डसे जतिसक्दो चाँडो उपचार केन्द्र पु¥याउनु पर्छ ।’ धामी–झाँक्री, तन्त्र–मन्त्र र झारमौरोको प्रयोगबाट पनि सर्पले डसे नडसेको छुट्याउन सकिने आम धारणा छ, यो पनि गलत हो । मंगलवार बिर्तामोडस्थित एमिटी एजुकेशन फाउण्डेशनका बिद्यार्थीलाई सर्पदंशको वारेमा प्रशिक्षण दिने क्रममा सुरेन्द्रले यस्तो बताएका हुन् ।

सर्पदंश उपचार केन्द्र चारआलीको व्यवस्थापनमा नेपाली सेनाले २०६० सालबाट चारआलीमा सर्पदंशको उपचार शुरु गरेको छ । अझै पनि चेतना अभावमा सर्पदंशका कारण धेरैले अकालमा ज्यान गुमाउने गरेको भन्दै नेपाली सेनाको प्राविधिक टोलीले जिल्लाका विभिन्न विद्यालयमा पुगेर अहिले विद्यार्थीलाई प्रशिक्षण दिइरहेको छ ।

सो क्रममा मंगलवार बिर्तामोडस्थित एमिटी एजुकेशन फाउण्डेशनका विद्यार्थी र अभिभावकलाई सर्पले डसेमा के गर्ने, के नगर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको छ ।

सर्पदंश उपचार केन्द्र चारआलीका जमदार योकपाङ्देनसहित नेपाली सेनाका अमलदार (प्राविधिक) टीका खड्का, सिपाहीं रमेश श्रेष्ठ लगायत ६ जनाको टोलीले नेपालमा पाइने विषालु र अविषालु सर्प बिद्यार्थी र अभिभावकलाई देखाउँदै सर्पदंशका विषयमा जानकारी गराएको थियो ।

टोली प्रमुख योकपाङ्देनले नेपालमा ८९ प्रजातिका सर्प पाइने र तीमध्ये २२ प्रजातिका ज्यादै विषालु हुने गरेको बताए । ६७ प्रजातिका अविषालु सर्पहरु नेपालमा पाइन्छन्– उनले भने– ‘१२ प्रजातिका हरेऊ, १० प्रजातिका करेत र गोमनको टोकाइबाट अहिलेसम्म धेरै मानिसले अकालमा ज्यान गुमाएका छन्, तसर्थ सर्पदंशबाट बच्न जरुरी छ ।’

सर्पले डसेको ठाउँमा मुखले चुस्ने या यन्त्रले तान्ने गर्नु हुँदैन– उनले भने– ‘सर्पले डसेको ठाउँमा धारिलो हतियारले चिर्ने, काट्ने, डढाउने, पोटास या कुनै रसायन पनि हाल्ने गर्नु हुँदैन ।’ सर्पले टोके नटोकेको थाहा पाउन समाजमा अझै पनि खुर्सानी खाने चलन छ– योकपाङ्देन भन्छन्– ‘खोर्सानी खाँदा सर्पले टोके नटोकेको थाहा हुँदैन बरु खोर्सानीले उल्टै पेट पोलेर उपचारमा समस्या हुन्छ, यस्तो गलत धारणा त्याग्न म सबैलाई आग्रह गर्छु ।’

श्रीनयाँ श्रीनाथ गण चारआलीमा रहेका नेपाली सेनाले २१ प्रजातिका सर्प विद्यार्थीलाई देखाउँदै कुन सर्प विषालु, कुन अविषालु, कुन सर्पले डसे कत्तिको छिट्टो विष लाग्छ सो विषयमा जानकारी गराएको थियो ।

विद्यालयमै आएर नेपाली सेनाले विद्यार्थी र अभिभावकलाई सर्पदंशका विषयमा जानकारी गराएपछि सर्पदंश उपचार केन्द्र चारआली र श्रीनयाँ श्रीनाथ गणका प्राविधिक टोलीलाई विद्यालयका प्रिन्सिपल सीताराम ढकालले धन्यवाद दिएका थिए ।

यता विद्यालय व्यवस्थापन समिति सदस्य गौरीशंकर गुप्ता ‘टिंकु’ले नेपाली सेनाले बिद्यार्थीलाई सर्पदंशको विषयमा सर्प नै ल्याएर देखाउँदै सिकाएको ज्ञान प्रभावकारी हुने र यसले पछिसम्म बिद्यार्थीलाई फाइदा पुग्ने बताए । सिकाइका क्रममा बिद्यार्थीले सुनेको भन्दा प्रत्यक्ष देखेर सिकेको ज्ञान प्रभावकारी हुन्छ– गुप्ताले भने– ‘त्यसमाथि पनि बिद्यार्थीले विषालु र अविषालु सर्पको विषयमा जान्ने मौका पाए, त्यो हाम्रा नानीहरुका लागि ज्यादै महत्वपूर्ण कुरा हो ।’

यता सेनाको प्राविधिक टोलीले सर्प दिउँसो भन्दाराति बढी सक्रिय हुने भएकाले जुत्ता लगाएर मात्र हिँड्डुल गर्न, घर वरिपरि झ्यास, झार–जंगल, जमिनमा परेको दुलाहरु भए सफा गर्न, राति सुत्दा झुलको प्रायेग गर्न, सकेसम्म हाँस कुखुरा, परेवालाई घरभित्र नराख्न सुझाव दिएको छ ।

गर्मी महिनामा सर्प वढी सक्रिय रहने भन्दै गर्मीको समयमा बढी सचेत रहन बिद्यार्थी र अभिभावकलाई नेपाली सेनाको प्राविधिक टोलीले सुझाएको थियो । झापासहित पूर्वी पहाडी जिल्लामा हरेऊ, करेत र कोव्रा बढी बिषालु सर्प पाइने गरेको बताइएको छ ।

विषालु सर्पमध्ये पनि रसेल्स भाइपर सर्पको डसाइका काराण तुरुन्त मानिसको मृत्यु हुने गरेको जमदार योकपाङ्देनले बताए । २०६० साल चैत ६ गतेबाट सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र चारआलीले हालसम्म १४ हजार ८ सय १० जना सर्पदंशका बिरामीलाई सफल उपचार गरिसकेको बताइन्छ । जसमध्ये छिमेकी राष्ट्र भारतबाट समेत सेवा लिन आएका जमदार योकपाङ्देनले जानकारी दिए । विशेष गरी झापासहित पूर्वी पहाडी जिल्ला इलाम, ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुमका सर्पदंशका बिरामीले बढी सेवा लिएको बताइएको छ ।

सर्पदंश उपचार केन्द्र चारआली र नेपाली सेनाको प्राविधिक टोलीले पछिल्लो समय दुई दर्जन बढी बिद्यालयमा पुगेर सर्पदंश सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरेको चारआली गणका मेजर ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार प्रत्येक हप्ता बिभिन्न बिद्यालयमा गएर सर्पदंश सम्बन्धी प्रशिक्षण प्रदान गरिँदै आएको छ ।

हाल नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले दमकमा र सहारा नेपाल साकोसको प्राविधिक सहयोगमा कनकाई नगरपालिकाको कोटीहोमबाट पनि सर्पदंशका बिरामीले सेवा लिँदै आएका छन् ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर