Aamsanchar

कहाँ चुक्यो झापा प्रहरी ? ६ महिनामा ७०० अपराध

Author Image
शुक्रवार, फागुन ३, २०७५

बिर्तामोड ।

चालू आर्थिक वर्षको ६ महिनामा झापामा सात सयभन्दा बढी अपराधका घटना घटेका छन् । जसमध्ये यौन जन्य गतिविधि र गम्भीर अपराधका घटना बढी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिने तथ्याङ्कमा गम्भीर अपराधमा संलग्न एक सय ७४ जना पक्राउ परेको उल्लेख छ । त्यस्तै यौनजन्य गतिविधिमा संलग्न एक सय २४ जना पक्राउ परेका छन् । ६ महिनाको अवधिमा जिल्लामा सात सय ३ वटा अपराधका घटनाको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार अदालतको फैसला कार्यान्वयन अन्तरगत एक सय १२ जना फरार व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले गुण्डागर्दीमा संलग्न १ सय १० जनालाई पक्राउ गरेको छ भने तीन लाख ७३ हजार एक सय ३५ रुपैयाँ सहित ५३ जना जुवाडेलाई समेत नियन्त्रणमा लिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । खुल्ला सीमानाका कारण लागूऔषधको कारोवार हुने झापामा प्रहरीले सक्रियता देखाउँदा एक सय ३५ जना लागूऔषध कारोवारमा संलग्न पक्राउ परेका छन् ।

प्रहरीले चाडपर्वको समयमा गैरकानूनी रुपमा नेपाल भित्रिएको सात लाख ९६ हजार तीन सय २४ रुपैयाँ वरावरको पटका नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ । प्रहरीेले गैरकानूनी रुपमा नदीजन्य पदार्थको उत्खनन् र बिक्री बितरणलाई रोक्न कारवाही अभियान चलाउँदा तीन लाख रुपैयाँभन्दा बढी राजश्व असुल भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले ६ महिनाको अवधिमा एक करोड ३० लाख ६७ हजार नौ सय १० रुपैयाँ बराबरको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाएको प्रहरी प्रमुख ढकालले बताए । उनका अनसार सोही अवधिमा दुई सय ३२ वटा चौपाया नियन्त्रणमा लिएर भन्सार बुझाइएको छ ।

ठूला घटनामा प्रहरीको सफल अनुसन्धान

भारत बिहार राज्य सुपोल जिल्ला बस्ने महमद सदामको ७ बर्षीय छोरा महफुज आलमलाई अपहरण गरी बन्धक बनाई पन्ध्र लाख भारतीय रुपैयाँ फिरौती रकम माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ भने प्रहरीले बालकको सकुशल उद्धार समेत गरेको छ ।

पक्राउ पर्नेमा बद्री यादव, बिन्टुन भनिने श्रीप्रसाद मुखिया र अञ्जुदेवी मुखियालाई प्रहरीले दमक र गौरीगञ्जबाट पक्राउ गरेको थियो । घटना गत मंसीरको हो ।

त्यस्तै झापाको गौरीगञ्ज–३ निवासी सुकोदेवी ताजपुरियाका १० वर्षीय छोरा सुजन ताजपुरिया खेल्दै गरेको अवस्थामा अपहरणमा परेका थिए । साउन ९ गतेको सो घटनामा संलग्न भारत किसनगञ्ज निवासी २५ वर्षीय ओमप्रकाश सिंहलाई पक्राउ गर्नुका साथै बालकको सकुशल उद्धार गर्न प्रहरी सफल भयो ।

दमकका व्यापारी हत्यामा संलग्नलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको छ । भदौ २५ गते राति खेमराज पौडेल हराएको सूचना प्राप्त हुनासाथ भोलिपल्टै हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका–६का २८ वर्षीय सदाम हुसेन मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चार वर्ष अघि डाकाले पृथ्वीनगरका देवकुमार श्रेष्ठको गोली हानी हत्या गरेको थियो । सो समूहका भारत किसनगञ्ज कुर्लिकोट ग्रामपञ्चायत बस्ने ३७ वर्षीय मजबुल आलमलाई प्रहरीले पक्राउ गरेको छ । घटना २०७१ चैत ३० गते राति भएको थियो ।

यता लागूऔषध तथा बिष्फोटक पदार्थसहित मेचीनगर– ६का बिशाल लिम्बू पक्राउ परेका छन् । उनका साथबाट प्रहरीले एक केजी चरेश बरामद गरेको थियो । गत पुस १४ गते झापा बिर्तामोड–५बाट पाँचथर फाल्गुनन्द–८का संग्राम सिंह आङ्देम्बे लिम्बूको साथबाट ३१ ग्राम लागूऔषध ब्राउन सुगर र पकेट डिजिटल तराजु पक्राउ गरेको थियो ।

त्यस्तै ताप्लेजुङ्ग थुम्बेदिन–३ घर भई अर्जुनधारा–१०मा डेरा गरी बस्ने बर्ष ४२का भीमबहादुर अधिकारी, श्रीमती ओममाया खतिवडा अधिकारी र साली रेवतीमाया डाँगी लागूऔषधसहित पक्राउ परेका थिए ।

यता ट्रक चोरीमा संलग्नलाई समेत प्रहरीले पक्राउ गरेको छ । भदौ ३० गते बिर्तामोडका विभिन्न स्थानबाट ट्रक चोरी गरी बिक्री बितरणका लागि लैजाँदै गर्दा प्रहरीले चोरीमा सम्लग्न पाँचथर फिदिम–३का १९ वर्षीय सुजन भन्ने रोशन श्रेष्ठलाई पक्राउ गरेको थियो ।

मदिरा नियन्त्रणमा अभिभायनमा प्रहरीको सफलता

चालूआर्थिक वर्षको ६ महिनामा घटेका अपराधमा मादक पदार्थ सेवनका कारण हुने अपराध भने घट्दो क्रममा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउने अभियान सञ्चालन गरेसँगै मादक पदार्थ सेवनका कारण हुने अपराधमा कमी आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख ढकालले बताए । उनका अनुसार गत बर्षका १६८७ घटनामध्ये ५१२ वटा मादक पदार्थ सेवनका कारण घटेका थिए । चालूआर्थिक बर्षमा घटेका ७०३ घटनामध्ये १०३ वटा अपराधका घटना मादक पदार्थ सेवनका कारणले घटेको ढकालको भनाइ छ ।

घरेलु हिंसाका आर्थिक बर्ष ०७२ ÷०७३ मा ९७ घटनामा ६६ वटा, आर्थिक बर्ष ०७३÷०७४मा १०५ घटनामा ७२ वटा, चालूआर्थिक बर्षको ६ महिनामा ८३ वटा घटनामा ५३ वटा मादक पदार्थ सेवनको कारणले घटेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । चालू आवको ६ महिनामा कूल २ हजार ३ सय ६३ वटा बिभिन्न घटनाको ठाडो निवेदन परेकोमा सोमध्ये मादक पदार्थ सेवनको कारणले ८ सय १३ घटना घटेको देखिन्छ । झापा जिल्लामा मदिराजन्य पदार्थको बिक्रीवितरणका लागि १ हजार ६ सय ८२ फर्मले इजाजत लिएका छन् ।

सफलताको सारथी सीसी क्यामेरा

प्रहरीलाई अपराध अनुसन्धानमा सीसी क्यामेरा सफलताको सारथी बनेको छ । ठूला तथा साना अपराध अनुसन्धानका क्रममा प्रहरीलाई ठोस प्रमाण जुटाउन सीसी क्यामेराले मद्दत पु¥याएको प्रहरीको भनाइ छ ।

बिर्तामोड नगर क्षेत्रमा मात्रै प्रहरीले ८० लाखभन्दा बढीको लागतमा ६४ वटा सीसी क्यामेरा जडान गरेको छ । भद्रपुर नगरपालिकाका विभिन्न स्थानमा १४ वटा, बुद्धशान्ति गाउँपालिकास्थित बुधवारे, मेची राजमार्गमा दुई वटा, जिल्ला प्रहरी कार्यालय तथा मातहतका मुद्दा चल्ने प्रहरी इकाइका हिरासत कक्षमा ५÷५ वटाका दरले ३५ वटा सीसी क्यामेरा जडान भएको छ । शिवसताक्षी नगरपालिका र कचनकवल गाउँपालिकामा समेत सीसी क्यामेरा जडानको पहल भइरहेको प्रहरीले जनाएको छ ।

कहाँ चुक्यो प्रहरी

जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आएका भीमप्रसाद ढकालले बिहीवार जिल्लाका बिभिन्न स्थानमा पत्रकार सम्मेलन गर्दै आफूले नेतृत्व सम्हालेसँगै अपराध न्यूनीकरणमा सफलता हात पारेको दावी गरे पनि कारागारबाट फरार कैदी हालसम्म पक्राउ गर्न सकेका छैनन् । त्यस्तै बिर्तामोडको एक बैंकमा भएको लुटपाटमा संलग्नलाई समेत प्रहरीले पक्राउ गर्न सकेको छैन ।

उता भद्रपुर–९स्थित मनषा सिमेन्ट उद्योगका म्यानेजर कमलसिंह दुगडको हत्यामा संलग्नलाई पक्राउ गर्न पनि प्रहरी असफल देखिएको छ । ६६ वर्षीय दुगडको हातखुट्टा बाँधी मुखमा सिरानी कोचेर हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । भारतको विशाखापटनम घर भएका उनी दुई वर्षदेखि म्यानेजरको रुपमा उक्त सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर