१ नम्वर प्रदेश सरकारमार्फत कृषि ज्ञान केन्द्र झापाले झापाली कृषकलाई बगर खेतीका लागि सो रकम अनुदान स्वरुप प्रदान गर्न लागेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख योगप्रसाद खरेलले जानकारी दिए ।
पाँच विगाह खेती गर्ने समूह वा उद्यमीलाई ज्ञान केन्द्रले रकम प्रदान गर्ने र एक सय बिगाह खेतीका लागि सरकारले अनुदान प्रदान गर्ने बताइन्छ । प्रति समूह वा उद्यमीलाई एक लाख ५० हजार रुपैयाँ अनुदान स्वरुप रकम प्रदान गरिने ज्ञान केन्द्र प्रमुख खरेलले बताए । उनले भने– ‘कृषकबाट आवेदन लिने क्रम जारी छ, को–को किसानले रकम पाउँछन् केही दिनभित्रै निश्चित मापदण्डका आधारमा उनीहरुलाई रकम प्रदान गरिन्छ ।’
कृषकलाई वगर खेतीतर्फ प्रोत्साहन गर्न सरकारले अनुदान स्वरुप रकम प्रदान गर्न लागेको खरेलको भनाइ छ । झापामा एक सय ३० हेक्टर क्षेत्रफलमा वगर खेती हुँदै आएको छ । मेची, कनकाई र विरीङ वगर खेतीका लागि प्रमुख नदी हुन्– ज्ञान केन्द्रका सूचना अधिकारी खीरवहादुर श्रेष्ठले भने– ‘झापाली किसानले वगर खेतीबाटै झण्डै तीन करोड रुपैयाँ प्रतिवर्ष आम्दानी गर्छन् ।’
आर्थिक वर्ष २०७३÷०७४मा कृषकले १८१६ मेट्रिकटन तरकारी लगायत, खरबुजा, तरबुजा उत्पादन गरे– श्रेष्ठ भन्छन्– बगरखेतीबाट किसानले दुई करोड २० लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ ।’
नेपालमा नदी कटानबाट जमिन बगरमा परिणत भइरहेकाले खेतीयोग्य जमिन घट्ने क्रम बढिरहेको छ, जसले गर्दा समग्रमा उत्पादकत्व बढ्न सकिरहेको छैन । बगरमा परिणत भएका नदी खोला किनारका जग्गालाई उपयोग गरी युवा, भूमिहीन र न्यून आय भएका कृषकहरुलाई बगरमा तरकारी खेती गराई कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने गरी कृषकको जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले वगर खेती कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ तयार गरेको छ । जहाँ किसानले खोला किनारका वगरमा तरकारी बाली लौका, घिरौंला, फर्सी, जुकीनी, काँक्रा, तरवुजा, खरवुजा, परवल, करेला जस्ता लहरे तरकारी लगाउनुपर्ने हुन्छ ।
वगरखेती कार्यक्रम सञ्चालनका लागि कृषि ज्ञान केन्द्रले क्लष्टर छनौट गर्दा क्लष्टरका लागि चाहिने जमिनको उपलब्धता, बगर खेतीको व्यवसायीकरणको सम्भावना लगायत अन्य मापदण्डका आधारमा गर्न सकिने कार्यविधिमा उल्लेख छ । कृषि ज्ञान केन्द्रका बागवानी बिकास अधिकृतलाई संयोजक तोकी जिम्मेवारी दिने कार्यविधिमा उल्लेख छ ।
कृषकलाई सरकारले सिञ्चाईका लागि सामग्री सहयोग, तरकारीको बीऊ, बजार व्यवस्थापनमा सहयोग, वाली संरक्षणका प्रविधि, जैविक विषादिका लागि व्याट्रीबाट चल्ने पावर स्पेयर, र बजारीकरणको प्रोत्साहनका लागि प्रति बिगाह ५ हजार रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारले तयार गरेको कार्यविधिमा उल्लेख छ ।
योसँगै झापाली कृषकका लागि प्रदेश सरकारले पाँच करोड एक लाख २० हजार रुपैयाँ अनुदान दिने भएको छ । विभिन्न १७ वटा शीर्षकमा कृषकलाई उक्त रकम अनुदान स्वरुप प्रदान गरेको कृषि ज्ञान केन्द्रका प्रमुख खरेलले बताए । उनले भने– ‘कृषकलाई एकीकृत शत्रुजीव व्यवस्थापनदेखि बगर खेती गर्नसम्म प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।’
आइपीएम पाठशाला सञ्चालनका लागि प्रदेश सरकारले चार लाख रुपैयाँ सहयोग गरेको र तीन वटा आइपीएम पाठशाला (एकीकृत शत्रुजीव व्यवस्थापन) सञ्चालन भइरहेको केन्द्र प्रमुख खरेलले बताए । अहिले तरकारी खेतीका लागि अर्जुनधारा, बुद्धशान्ति र गौरादहका कृषकले एकीकृत शत्रुजीव व्यवस्थापन सम्वन्धि तालिम लिइरहेका छन् ।
२० जना किसान सहभागी भई प्रति समूह एक लाख रुपैयाँका दरले उनीहरुलाई प्रदान गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी श्रेष्ठले बताए । उनले भने– झापामा २०५३ सालबाट यो कार्यक्रम लागू छ, जसमध्ये सवैभन्दा धेरै तरकारी खेतीमा यो कार्यक्रम प्रभावकारी देखिएको छ । अहिले धानमा पनि कृषकले एकीकृत शत्रुजीव व्यवस्थापन सम्बन्धी तालिम लिएर जैविक विषादि बनाउन कृषक सक्रिय रहेका छन् ।’
गत वर्ष जिल्लामा निक्षेपित लगायत केन्द्रीयस्तरका गरी १३ वटा आयोजना कार्यक्रम सञ्चालन भएका थिए । जसबाट कूल ५९ हजार सात सय किसान प्रत्यक्ष लाभान्वित भएका थिए । चालू अर्थिक वर्ष सो भन्दा बढी किसान प्रत्यक्ष लाभान्बित हुने बताइएको छ ।
गतवर्ष कूल खाद्यान्न, तरकारी, फलफूल, मसला, चिया, सुपारी आदिको औसत फार्मगेट मूल्य बमोजिम ३० अर्बको कृषि उपज उत्पादन भएको थियो । कृषकले कृषि अनुसन्धान केन्द्रबाट सिफारिस भएका धानका नयाँजात, स्वर्णसव–१, सुख्खा–१, सुख्खा–३ कृषकले परीक्षणका रुपमा लगाएका थिए ।
रासायनिक मलखाद, विषादिको प्रयोगलाई सकेसम्म ब्यवस्थापन गरी प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिँदै कृषकलाई आइपीएम पाठशालामा सहभागी गराइएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 72