Aamsanchar

भारत र पाकिस्तान बीच युद्धको खतरा, नेपालको सुरक्षा व्यबस्था कडा

Author Image
मङ्गलवार, फागुन १४, २०७५

काठमाडौं, 

पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतीय वायुसेनाका विमानले बम खसालेको विषयले दुई देशबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ।

भारतीय वायुसेनाले पाकिस्तान प्रशासित कश्मीरमा मंगलबार बिहान बम खसालेको दुवै देशले पुष्टि गरेका छन। उक्त हमलापछि भारत र पाकिस्तानका उच्च सुरक्षा बैठक र दुवै देशका प्रधानमन्त्री स्तरमा बैठकहरू भइरहेका छन्। पाकिस्तानले प्रतिकार गर्ने जवाफ दिएको छ भने भारतले पनि वायुसेना र स्थल सेनालाई युद्धका लागि तयार अवस्थामा राखेको बताएको छ।

भारत र पाकिस्तानका संचारमाध्यममा आएका समाचारले दुवै देश निकट भविष्यमा नै ठूलो तनावबाट गुज्रन लागेको देखिन्छ। पाकिस्तानका विदेशमन्त्रीले भारतले अन्तर्राष्ट्रिय सीमा उलंघन गरेको आरोप लगाएका छन् भने प्रधानमन्त्री इमरान खानले युद्धलाई सजिलो रूपमा नलिन आग्रह गरेका छन।

भारतका विदेश सचिव विजय गोखलेले भारतीय वायुसेनाले गुप्तचरको सूचनाका आधारमा सीमाना पार गरेर जैस ए मोहम्मदको क्याम्पमा हमला गरिएको दाबी गरेका छन। गोखलेले प्रधानमन्त्री नरेन्द्र मोदी, गृह र रक्षामन्त्रीहरू तथा उच्च सुरक्षा अधिकारीको बैठकपछि उक्त कुरा सार्वजनिक गरेका हुन।

दक्षिण एसियाका यी दुई परमाणु हतियार भएका मुलुकहरू युद्धको संघारमा रहेका बेला यसको प्रभाव अन्य देशमा पनि पर्नेसक्ने देखिएको छ। नेपाल भारतको छिमेकी भएकाले यसको प्रभाव पर्ने परराष्ट्रविद्हरूले चिन्ता व्यक्त गरेका छन्। यसका लागि कुटनीतिक पहल हुनुपर्ने उनीहरूको माग छ।

नेपालले तटस्थ रहनुपर्ने र आफ्नो रक्षा गर्नुपर्ने कुटनीतिक क्षेत्रका व्यक्तिहरूको धारणा छ। यसैबीच नेपाल सरकारले सीमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारेको छ। दुई देशबीच तनाव भइरहेका बेला नेपालको भूमीलाई प्रयोग गरेर कुनै पनि अबाञ्छित गतिविधि नहोस् भनेर सरकारले सुरक्षा सतर्कता बढाएको सुरक्षा स्रोतले बताएका छन।

गृहमन्त्रालय स्रोतका अनुसार मातहतका सुरक्षा निकायलाई सुरक्षा सतर्कता अपनाउन निर्देश भएको छ। मंगलबार बिहान नै सुरक्षा निकायहरूलाई सीमाना र विमानस्थल सुरक्षा चुस्त राख्न भनिएको छ। नेपाल प्रहरीले पनि सुरक्षा सतर्कता बढाएको जानकारी दिएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्त्मराज सुवेदीले नेपाल प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल र सीमानामा सुरक्षा सतर्कता बढाइएको बताए। उनले भने, ‘नेपाल प्रहरीले सरोकार राख्ने अन्तर्राष्ट्रिय विमानस्थल लगायत सीमानामा उच्च सतर्कता अपनाएका नै छौँ।’

उनले दुई देशबीच तनाव बढ्दै गए नेपाललाई आउने समस्याबारे प्रहरी सतर्क रहेको जानकारी दिँदै भने, ‘दैनिक उपभोग्य सामाग्रीको आपुर्तीमा प्रभाव पर्न सक्छ र खुला सीमानालाई दुरुपयोग गरेर अनावश्यक मान्छेहरूको आवतजावत हुनसक्ने कुरालाई मध्यनजर राख्दै उच्च सतर्कता अपनाइएको छ।’थाहा खबरबाट

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर