Aamsanchar

घर–घरमा बम ! पुरानो सिलिण्डर जोखिमपूर्ण बन्दै

Author Image
बुधवार, फागुन १५, २०७५

सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल

बिर्तामोड,।

गत वर्ष वीरगञ्जस्थित सुरपर ग्यास उद्योगमा आगलागी हुँदा तीनको जलेर मृत्यु भयो । त्यस्तै ललितपुर–१९मा भएको दुर्घटनामा चार जनाको ज्यान गयो । उता मकवानपुरको हेटौडा नापी कार्यालयमा चार वटा सिलिण्डर पड्किँदा ४७ जना गम्भीर घाइते भए ।

पूर्वप्रधानमन्त्रीदेखि सभासद्सम्म ग्यास विष्फोटको सिकार बने । पूर्वमन्त्री नवराज सुवेदीका छोराको ग्यास सिलिण्डर विष्फोट हुँदा मृत्यु भएको थियो । यसरी सांसददेखि पूर्वमन्त्रीका छोरासम्मले ज्यान गुमाउँदा समेत सरकारले ग्यास सिलिण्डरको गुणस्तर र उपभोक्ताको अधिकारको विषयमा चासो नदिएको एक कार्यक्रमका सहभागीहरुले औंल्याएका छन् ।

झापाको बिर्तामोडमा मंगलबार भएको कार्यक्रममा सहभागीहरुले भान्सामा नै बम रहेको भन्दै यसको उचित व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । नेपालमा हाल तीनबाट ग्यास उद्योगहरु सञ्चालनमा रहेका छन् ।

सिलिण्डर प्रालि, एरोटेक प्रालि र गृहलक्ष्मी मेटल प्रालिले दैनिक ७–८ सयसम्म सिलिण्डर उत्पादन गरिरहेका छन् । नेपालमा अवैध रुपमा भारतबाट समेत सिलिण्डर आयात भइरहेको जनाइएको छ । तर, यसको गुणस्तरको नियमन गर्ने निकाय बेखबर बन्दा नेपालीको ज्यान आफूले सुरक्षित ठानेको घरमा नै जोखिममा रहेको कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले बताइन् ।

नेपालमा ३५–४० वर्ष अघिबाट ग्यास उद्योग सञ्चालनमा रहे पनि ग्यास सिलिण्डरको आयु २० वर्ष हुने बताइए पनि सिलिण्डर कति बर्षका उपयोग गरिएको छ त्यसको यकिन जानकारी कसैसँग नभएको उनको भनाइ छ ।

उपभोक्ताको बाँच्न पाउने अधिकारको रक्षा गर्ने हो भने सरकारले हरेक क्षेत्रमा निगरानी गर्दै त्यसको उपभोगको विषयमा परीक्षण गर्नुपर्नेमा कञ्जुमर आई नेपालकी अध्यक्ष खनालले जोड दिइन् । हरेक क्षेत्रमा उपभोक्ता जोखिममा रहेको भन्दै कञ्जुमर आई नेपालले देशभरका विभिन्न संघ–संस्थासंग छलफल गर्दै उपभोक्ताको अधिकारको विषयमा आवाज उठाउँदै आएको छ ।

उपभोक्ता हित संरक्षणका लागि कानूनी अधिकार अन्तर्गत सुरक्षाको अधिकार, सुचित हुने अधिकार, छनौटको अधिकार, सुनुवाईको अधिकार, उपभोक्ता शिक्षाको अधिकार, क्षतिपूर्तिको अधिकार, आधारभूत आवश्यकतामा पहुँचको अधिकार, स्वच्छ तथा स्वच्छ वातावरणको अधिकार र प्रतिनिधित्वको अधिकार बुदाँगत रुपमा स्पष्ट रुपमा किटान गरे पनि यसको कार्यान्व्यन हुन सकेको छैन भन्दै कञ्जुमर आई नेपालले सबै पक्षको ध्यानाकर्षण हुन जरुरी रहेको उल्लेख गरेको छ ।

कञ्जुमर आई नेपालले उपभोक्ताको अधिकारको रक्षा गर्ने भन्दै धेरै ऐन, कानून बने पनि कार्यान्वयन हुन नसकेको जनाएको छ । अध्यक्ष खनालले उपभोक्ताको अधिकारको विषयमा प्रस्तुत गरेको कार्यपत्र आफ्नो नगरपालिकाका लागि साँच्चै उपयोगी बन्न सक्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

उपभोक्ताको अधिकार र दैनिक जीवनमा आवश्यक पर्ने उपभोग्य वस्तुको संरक्षण तथा यसको शुद्धताको विषयमा स्वयम् उपभोक्ता जागरुक बन्न आवश्यक रहेको प्रमुख शिवाकोटीको भनाइ छ । उनले बिर्तामोडका उपभोक्ताको पक्षमा नगरपालिका रहेको भन्दै उपभोक्ताको हित विपरीत कार्य गर्नेलाई कानूनी कठघरामा उभ्याउन तयार रहेको प्रतिबद्धता समेत जाहेर गरे ।

वाणिज्य आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता संरक्षण विभाग र कञ्जुमर आई नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा साल्ट टे«डिङ कर्पोरेशन, नेपाल आयल निगम लगायतका विषयमा सहभागी वक्ताहरुले आ–आफ्नो धारणा व्यक्त गर्दै उपभोक्ता अधिकार र कानून कार्यान्वयनमा भएका चुनौतिका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बजारको नियमित अनुगमन गर्ने विषयमा प्रशासन कार्यालय लागीपरेको भन्दै उपभोक्ताको अधिकारमाथि कसैले खेलबाड गर्न नहुने बताए । उनले उपभोक्तालाई ठगी गर्नेहरुलाई कानूनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको धारणा ब्यक्त गरे ।

त्यस्तै साल्ट टे«डिङ कर्पोरेशनका प्रदेश प्रमुख ब्रजेशकुमार झाले साल्ट टे«डिङ कर्पोरेशनले उपभोक्ताको हितमा काम गरेको बताउँदै पछिल्लो समय गलगाँडमा कमी आएको बताए । उनले भने– साल्ट टे«डिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्नु पूर्वको अवस्था र हालको अवस्थामा धेरै परिवर्तन आएको छ ।

पछिल्लो समय साल्ट टे«डिङ कर्पोरेशनले रासायनिक मलको विक्री वितरण समेत शुरु गरेको उनले जानकारी दिए । कञ्जुमर आई नेपालकी अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

रञ्जन शर्मा खनालले स्वागत गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख सुवास खड्का लगायतले बोलेका थिए ।

Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर