Aamsanchar

सरकारी दमन विरुद्ध विप्लव माओवादी आन्दोलित,फागुन ३० गते नेपाल बन्दको आह्वान

Author Image
मङ्गलवार, फागुन २८, २०७५

बिर्तामोड।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि दमन शुरु गरेको भन्दै त्यसको बिरुद्धमा विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी फागुन ३० गते बिहीबार नेपाल बन्दको घोषणा गरेको हो । बर्तमान सरकारले आफ्ना कार्यकर्ताहरुमाथि बारम्बार झुटा मुद्दा लगाउने तथा अनावश्यक रुपमा दमन गर्दै आतंक सिर्जना गर्न थालेपछि आफूहरु बाध्य भएर बन्दमा उत्रिनुपरेको विप्लव माओवादीले जनाएको छ ।

दुई तिहाईको दम्भ देखाउँदै वर्तमान केपी ओली नेतृत्वको सरकारले विप्लव माओवादीलाई जबरजस्ती आतंककारीको बिल्ला भिराउने खेलमा लागेको माओवादी निकट स्रोतको दाबी छ । विप्लव माओवादीले भनेको छ– देश यतिबेला इतिहासकै सर्वाधिक संकटबाट गुज्रिरहेको छ । दलाल पुँजीवादी सत्ताले राष्ट्र र जनता माथि थोपरेका कैयौं समस्याहरु सहनै नसक्ने प्रकारका छन् । राष्ट्रघात, जनघात, तस्करी, भ्रष्टाचार , सामाजिक असुरक्षा, गुण्डागर्दी जस्ता समस्याले नेपाली जनता निराश छन् ।

नेपाल कम्युनिष्ट पार्टी जनताको भरोसा बन्न थालेपछि वर्तमान राज्यका शासकहरुको टाउको दुख्न थालेपछि माओवादीबिरुद्धको दमनलाई तीब्र बनाई रहेको हाम्रो ठहर छ भन्दै विप्लव माओवादीले जनताको भरोसालाई आत्मसात गर्दै अघि बढ्न कसैको दमनले नरोक्ने उद्घोष पनि गरेको छ ।

गृहजिल्ला झापा आएर प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको नाममा लुट नमच्चाउन विप्लव माओवादीलाई चेतावनी दिँदै नियन्त्रण गर्ने बताएका थिए । त्यस लगत्तै प्रहरीले देशभर विप्लव माओवादीका कार्यकर्ताहरु पक्राउ गर्ने क्रमलाई तीब्रता दिएको थियो ।

प्रधानमन्त्रीको चेतावनी लगत्तै विप्लव नेतृत्वको माओवादीले वर्तमान सरकारले लुट मच्चाइरहेको भन्दै जनताले अब जनकारबाही गर्ने चेतावनी दिएको थियो । कर छली गर्ने एनसेलबिरुद्धको कारबाही, भ्रष्टाचार बिरुद्धका कारवाही, राष्ट्रघाती कामहरु बिरुद्धका कारवाहीहरुबाट छट्पटाएको वर्तमान सरकार सीके राउत जस्ता बिखण्डनको नारा लगाउने समूहलाई मूलधारमा ल्याउने तर राष्ट्रवादको कुरा गर्दै देश निर्माणमा लागेको पार्टीलाई दमन गर्ने खेलमा लागेकाले बन्दको आह्वान गर्नुपरेको माओवादी स्रोतको भनाइ छ ।

राज्य आतंक र दलालीको बिरोध गर्नु हामी सबैको साझा दायित्व हो भन्दै माओवादीले फागुन ३० गते झापासहित देशभरका उद्योग, व्यापार, कार्यालय, शिक्षण संस्था, यातायात लगायतका सबै क्षेत्रहरू एक दिन बन्द गरेर सहयोग गरिदिन आग्रह समेत गरेको छ । अटेर गरेर वर्तमान सरकारको पक्षपोषण गरेमा त्यसपछिको परिणाम भोग्न तयार रहन माओवादीले चेतावनी दिएको छ ।

कहा छन् विप्लव ?

सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई खोजी गरे पनि भेट्न सकेको छैन् ।

विप्लव र समूहका दोस्रो तहका नेता प्रकाण्ड हाल नेपालमै रहेको सुरक्षा निकायको रिपोर्ट छ । पार्टी पुनर्गठन दिवसको अवसरमा ७ मंसीरमा भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका दिन विप्लवको लोकेशन कीर्तिपुरमा देखिएको थियो । नख्खु विष्फोटका बेला विप्लव वनस्थलीमा देखिएको र त्यहाँबाट चितवन पुगेको सूचना प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नै पाएको थियो ।

प्रहरी विप्लव र प्रकाण्डहरुको लोकेशन त पत्ता लगाउने गरेको छ । तर, आफैंले फोन नबोक्ने हुँदा उनीहरु बच्ने गरेका छन् । त्यसो त प्रकाण्ड पक्राउ परेपछि प्रहरीले पाएको सूचनाको आधारमा सुरक्षा अधिकारी विप्लव नजिक पुगिसकेका थिए । विप्लवलाई पक्राउ गर्ने तयारीमा सुरक्षा निकाय थियो । तर, सरकारी पक्षबाट ‘ग्रीन सिग्नल’ नपाउँदा टोली ब्याक भएको थियो । पछि वार्ता गर्ने भनेर सरकारले नरम नीति लिँदा त्यसको फाइदा विप्लव समूहलाई नै भयो ।

नेपाल प्रहरीको प्रतिआतंकवाद सेलको एउटा रिपोर्टलाई मान्ने हो भने अहिले भइरहेको विष्फोटक घटनाको आवरणमा जिल्लास्तरका नेताहरु योजनामा भएको देखिए पनि यो केन्द्रीय नीति अनुसार नै भएको हो । विप्लव केही समय अघि पूर्वको कोशी र मेची अञ्चलका कार्यकर्ता प्रशिक्षणका लागि पूर्व आएका थिए । झापामा विप्लव माओवादीको दरिलो उपस्थिति रहेको छ ।

फागुन ३० गते हुने एक कार्यक्रममा सहभागी बन्न नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल झापा आउदैं छन् । प्रहरीले आईजीपी आउने भएपछि पूर्वमा सुरक्षा व्यवस्था कडा बनाउँदै लगेको छ । विप्लव माओवादीका कार्यकर्ताहरुको निगरानी समेत बढाएको जनाइएको छ ।

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर