Aamsanchar

राजपाको विरोधका कारण सांसद बैठक स्थगित

Author Image
बुधवार, फागुन २९, २०७५

काठमाण्डौ ,

राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको छ । गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै राजपाले बैठक अवरुद्ध गराएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय गीत पछि बैठक प्रारम्भ भएको सभामुखले भन्न नपाउँदै राजपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाए ।

त्यसपछि सभामुखले बोल्न समय दिनुभएपछि राजपा सांसद राजकिसोर यादवले गिरिशचन्द्र लालको नेतृत्वमा २०७३ असोज २ गते गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद बैठक अवरोध गरिरहने बताउनुभयो ।

मधेस आन्दोलन र थरुहट आन्दोलनका बेला राज्यपक्ष र आन्दोलनकारी पक्षबाट भएको मानवअधिकार हनन्का विषयमा सत्यतथ्य छानविन गर्न गिरिस चन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

आयोगले २०७४ माघ २९ गते सरकारलाई प्रतिवेदन बुझाएको भए पनि सरकारले आयोगको प्रतिवेदन अझैसम्म पनि सार्वजनिक गरेको छैन ।

बैठकमा बोल्दै सांसद यादवले प्रतिवेदन सार्वजनिक नगरेसम्म बैठकको काम अघि बढ्न नदिने भन्दै अवरोध गरिरहने बताएसँगै फेरी राजपाका सबै सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाए ।
सभामुक कृष्णबहादुर महराले पटक पटक बस्न र बैठकको कारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको छ ।

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर