सरकारको निर्णयको सर्मथ्नमा कांग्रेस सभापति देउवा, पूर्व माओवादी नेता भन्छन् सरकारले गलत ग¥र्यो

बिर्तामोड ।



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सरकारले अपराधिक संगठन ठहर गरेर प्रतिबन्ध लगाएसंगै राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । स्रोतका अनुसार उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।
राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको माओवादीलाई प्रतिबन्ध लगाएको बताइएको छ । सरकारले विप्लवलाई निस्तेज गर्ने रणनीति अंगिकार गरेसंगै विप्लवले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराज भुसालले सरकारले गरेको निर्णयले जनताको सिमित अधिकारमाथि नांगो हस्तक्षेप र षड्यन्त्र भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिए । नेता भुषालले सरकारको यो निर्णयले नेकपालाई कुनै असर नगर्ने दावी गरेका छन् ।
यता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टीका झापा जिल्ला सेक्रेटरी सुमानसिंह पौडेलले सरकारको दमन विरुद्ध जनताले जस्तो सुकै प्रतिकार गर्ने चेतावनी दिएका छन् । विशेष टेलिफोनमा कुरा गर्दै पौडेलले भने–हामीलाई सरकारले राज्य विरुद्ध विभिन्न अभियोग लगाउने प्रयत्न सुरु गरेको छ । यसले सरकार आफैं अप्ठ्यारोमा पर्दैछ । उनले बिरालोलाई कोठामा थुनेर कुट्न थाल्यो भने के हालत हुन्छ भन्दै सरकारलाई बेलैमा सचेतना अप्नाउन सुझाव समेत दिए । सेक्रेटरी सुमानसिंहले द्धन्द्धको बिजारोपण सरकार आफैंले गरेकाले अब जनता त्यसको प्ररिोधमा निस्कने र आफुहरु जनतासंगै हुने बताए ।
उनले विप्लवले विधि र शासन प्रणालीको मात्र विरोध गरेको तर विकास विरोधी भनेर भ्रम नछर्न चेतावनी समेत दिएका छन् । सरकार दमनमा उत्रिएकाले त्यसको प्रतिकार सोही अनुसार हुनेभन्दै भ्रष्ट्रचारी तथा राज्यका पक्षपोषकहरुलाई सजक रहन आग्रह समेत गरे । विप्लव माओवादीले बिहिबारको नेपाल बन्दलाई सफल बनाउन सबैसंग आग्रह समेत गरेको छ । विप्लव माओवादीले झापाका सबै नगरपालिका तथा गाँउपालिकामा भ्रष्ट्रचार नगर्न आग्रह गर्दै भ्रष्ट्रचार गर्ने विरुद्ध कारबार्ही सुरु गर्ने बताएको छ ।
यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयमा साथ नदिने बताएका छन् ।
बुधबार संसद भवन नयाँ वानेश्वरमा प्रतिक्रिया दिँदै नेता नेपालले पार्टीमा छलफल नगरी विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध गर्नु उचित नभएको बताए । उनले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताए ।
यता कुनै समय पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टाँउकाको मोल तेक्न समेत अग्रसर दिएका कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव माओवादी विरुद्ध कारबार्ही सुरु गर्नुपर्ने अभिब्यक्ति दिएका छन् । सरकारले अपराधिक संगठन ठहर गरेर प्रतिबन्ध लगाएको भोली पल्टै बुधबार विराटनगरमा पत्रकारहरुसंग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले प्रतिबन्ध लगाएर मात्र नहुने भन्दै कारबार्ही सुरु गर्नुपर्ने बताएका छन् । जथाभावि आक्रमण गर्ने, अशान्ति मच्चाउने कार्य रोक्न कडा कारबार्ही गर्नु पर्ने देउवाको भनाई । विल्पवले मान्छे मार्ने, आतंक फैल्याउने काम गरेको भन्दै देउवाले कांग्रेसका नेता तथा कार्यकतामाथि पनि हत्या गर्ने गरि आक्रमण गरेको भन्दै कडा कारबार्ही गर्नुपर्ने बताए ।
त्यस्तै पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिपार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा टुईट गर्दै सरकारले विप्लव विरुद्ध लगाएको प्रतिबन्धले परिणम नराम्रो दिने चेतावनी दिएका छन् । विश्व इतिहासमा पनि यस्ता घटनाले परिणाम नराम्रो नदिएको भन्दै टुईटमा भनेका छन्–नेकपा डबलको सरकारले नेकपा चन्द समुहलाई आपराधिक भन्दै प्रतिबन्ध लगाएको घटनालाई र्माक्सले भने झैं मजाक भयो कि वियोग भन्दै प्रश्न समेत गरेका छन् । उनले विश्व इतिहासका घटनाई पनि सम्झाएका छन् ।
त्यस्तै पुनगर्ठित माओवादी केन्द्रका नेता गोपाल किरातीले सरकार र विप्लव माओवादी दुबैले गम्भिर गल्ती गरेको औंल्याएका छन् । उनले सरकारले वार्ताका लागि बोलाउँदा नआएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गम्भिर गल्ती गरेको बताएका छन् । उनले अझै पनि गल्ती सच्याउने ठाउँ भएको भन्दै हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव माओवादीलाई आग्रह गरेका छन् ।
उनले सरकारले विप्लव माओवादीमाथि प्रतिबन्ध लगाएर अर्को गल्ती गरेको भन्दै विप्लव माओवादीमाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता लिएर वार्ताको वातावरण बनाउन सुझाव दिए । पूर्वमन्त्री समेत रहेका किराती माओवादी केन्द्रबाट विद्रोह गरी अलग्गै समूह बनाएर अहिले क्रियाशील छन् ।
भर्खरै बुटवलमा किराती समूहको बैठक सकिएको छ । किराती नेतृत्वको पुनगर्ठित माओवादी केन्द्रले महाधिवेशनको तयारी समेत गरिरहेको छ । यसैबीच गोपाल किराती नेतृत्वको पुनगर्ठित माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकताका लागि छलफल समेत चल्दै आएको थियो । तर, आफूसँग धेरै कुरामा विप्लवको लाइन नमिलेकाले एकताको कुरा अगाडि नबढाइएको किरातीले बताएका छन् ।
यस्तै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले विप्लव समूहका गतिविधिमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन सरकारसित माग गरेको छ । स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव वैद्यले नेकपा विप्लव समूहका नेता, कार्यकर्ताहरुलाई धरपकड तथा यातना दिने काम अबिलम्ब रोक्नसमेत माग गरेका छन् ।
सरकारको गतिविधिलाई फासिवादी भन्दै क्रान्तिकारी माओवादीले विरोध तथा भतर््सना गरेको छ । यस्तै, सरकार र सीके राउतबीच प्रधानमन्त्रीको उपस्थितिमा भएको ११ बुादेमा अमूर्त भाषा प्रयोग गरिएको भन्दै सच्याउन माग गरेको छ ।
त्यस्तै झापा क्षेत्र नम्बर १ बाट संघीय सांसद नेकपा नेता राम कार्कीले सरकारको प्रतिबन्ध गलत भएको बताएका छन् । उनले विप्लव माओवादीलाई प्रतिबन्ध लगाएर हिंसालाई बढवा दिएको भन्दै तत्काल फिर्ता लिएर वार्ताको वातावरण सिर्जना गर्न सुझाव दिएका छन् ।
यसैबीच इतिहासलाई फर्केर हेर्दा २००८ सालमा पनि नेपाल कम्युनिष्ट पार्टीमाथि तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसबेला प्रतिबन्ध लगाइएका नेताहरु आज सत्ता र शक्तिमा रहेका बेला उनीहरुले विप्लव माओवादी विरुद्ध प्रतिबन्ध लगाएर गलत काम गरेको भन्दै बेलैमा सचिएर अघि बढ्न राजनीतिक विश्लेषकहरुले सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा आएर विप्लव माओवादी विरुद्ध कडा अभिबयक्ति दिए लगत्तै प्रहरीले देशभर विप्लव माओवादी विरुद्ध धरपकड सुरु गरेको थियो ।
त्यस्तै सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाए सगैं देशभर जिल्ला र गाउँ तहमा सुरक्षा सतर्कता बढाईएको छ । प्रहरीले बिहानैदेखी गाउँका चौकीहरुबाट गस्ती बढाएको छ भने झापाका सबै स्थानमा प्रहरीले निगरानी बढाएको जनाइएको छ । विप्लव समूहको गतिविधि निस्तेज पार्न सादा पोसाकमा समेत सशस्त्र र जनपथ प्रहरी खटाईएका छन् ।
त्यस्तै सरकारले गठन गरेको राजनीतिक वार्ता टोलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताका लागि औपचारिक पत्र नपठाएको पाइएको छ ।
सरकारले विप्लव नेतृत्वको पार्टीलाई राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएसँगै वार्ता टोलीले पत्र नै नपठाएको खुलेको हो । सरकारले गठन गरेको राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लवका नेताहरूसँग छलफल गरे पनि पत्र नपठाएको स्वीकार गरे । ‘विप्लवनिकट नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनी र अन्य नेतासँग पटकपटक छलफल भयो’, उनले भने, ‘तर उक्त पार्टीलाई औपचारिक पत्र भने पठाइएको थिएन ।’
आफ्ना नेता खड्गबहादुर विश्वकर्मा, पदम राई, उमा भुजेललगायत हिरासतमुक्त नभएसम्म नेकपा वार्ताका लागि सकारात्मक भए पनि उनीहरू छुटेपछि वार्ता गर्न नचाहेको पाण्डेको दाबी छ । सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव नेतृत्वको पार्टी पनि प्रतिकारमा उत्रने चेतावनी दिँदै आएको छ
विप्लवलाई सरकारले प्रतिबन्ध लगाएसँगै अहिले सामाजिक सञ्जालमा सरकारको विरोध चर्को छ । विशेष गरेर नेकपाका कार्यकर्ताहरूले नै विप्लवलाई वार्तामा बोलाउनुको सट्टा प्रतिबन्ध लगाउने निर्णयले समाजिक सञ्जालमा सरकारको आलोचना तीव्र छ ।
सरकारको यो निर्णयले सामाजिक सञ्जालमा जस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र हलचल मचिएको छ । विप्लवमाथिको प्रतिबन्धको विषयलाई लिएर पूर्वमाओवादी नेताहरूले असन्तुष्टि जनाएका छन् ।
विप्लवको पार्टी पनि पूर्वमाओवादीले गरेको दश वर्षे संघर्षकै अंग भएका कारण वार्ताको विकल्प छाडेर प्रतिबन्ध लगाउनु गलत भएको नेकपाका स्थायी कमिटी सदस्य मणि थापाको तर्क छ ।

