काशीराम शर्मा / बाँके,
गत असार ११ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ डाक्टरको व्यवस्थापन हुन सकेको छैन । खजुरामा रहेको अत्याधुनिक प्रविधिसहितको अस्पतालका लागि आवश्यक पर्ने पर्याप्त पूर्वाधार भने तयार भइसकेको छन् । अत्याधुनिक प्रविधिसहितका विभिन्न संरचना निर्माण भए पनि अस्पतालमा क्यान्सर विशषज्ञको क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण प्रविधि रेडियसन सेटअप हुन सकेको छैन ।
सञ्चालनमा आएको लामो समय बिति सक्दासमेत अस्पतालमा आवश्यक जनशक्ति नहुँदा बिरामीलाई समस्या भएको छ । पश्चिम तराईको एकमात्र क्यान्सर अस्पताल भएका कारण उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएपनि विशेषज्ञ चिकित्सक र क्यान्सर पत्ता लगाउने प्रविधि अभावका कारण अस्पतालमा आउने बिरामीलाई क्यान्सर पहिचानका लागि अन्यत्र पठाउने गरिएको छ । १०० बेडको स्वीकृति पाएको उक्त अस्पतालमा ३० जना विशेषज्ञ डाक्टरसहित २०० बढी जनशक्तिको आवश्यकता पर्दछ ।
अस्पतालमा हाल साधारण फलोअपमा आउने बिरामीलाई परामर्श, माइनर बायोप्सी, ओपिडी, एक्सरे, सामान्य प्याथोलोजी, फार्मेसी, केमोथेरापी लगायतका सेवा सञ्चालनमा आएपनि आवश्यक जनशक्ति पदपूर्ति नहुँदा क्यान्सर रोग पत्ता लगाउने मुख्य सेवा भने सञ्चालनमा आउन नसकेको अस्पतालका कार्यकारी निर्देशक विश्वराम पौडेलले बताउनुभयो ।
अस्पतालमा हाल दुई जना मात्र विशषज्ञ चिकित्सक, एक–एक जना फिजिसियन र सर्जन र करारका अन्य कर्मचारीसहित ४५ जनाले सेवा दिइरहेका छन् । अस्पताललाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सरकारले ढिलाइ गर्दा अस्पतालको सेवा प्रवाह हुन नसकेको अस्पताल स्रोतले जनाएको छ । जनशक्ति स्वीकृत भएर व्यवस्थापन भए पूर्णरुपमा सेवा दिन सक्ने अस्पतालले जनाएको छ ।
क्यान्सरमा सर्जरी, केमोथेरापी र रेडियसन थेरापी गरी तीन प्रकारको थेरापी गर्नुपर्छ । त्यस्तै क्यान्सर रोग पत्ता लगाउन रगत जाँचका माध्यमबाट गरिने एफएनएसी र मासु काटेर जाँच्ने विधि बायोप्सी गरेर रोग पत्ता लगाएपछि क्यान्सरको स्टेज थाहा हुने र त्यसपछि केमोथेरापी र रेडियसन गर्नुपर्नेमा जनशक्तिका साथै आवश्यक विभिन्न मेसिनरी सामग्री खरीद नहुँदा समस्या भएको अस्पतालका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।
अस्पताललाई आवश्यक पर्ने कर्मचारी दरबन्दीलगायत अन्य अत्यावश्यक सामग्रीका लागि पटक–पटक मन्त्रालय र विभागमा अनुरोध गरेपनि कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ । “दरबन्दी स्वीकृत गरिदिन ६ महीनादेखि मन्त्रालयलाई पत्र पठाउनुका साथै आफैँ पुगेर भेटेरै अनुरोध गरिरहेका छौँ ।”, कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, “अहिलेसम्म दरबन्दी पाउन नसक्दा बिरामीलाई सेवा दिन गाह्रो भएको छ ।”
कार्यकारी निर्देशक पौडेलका अनुसार हाल अस्पताललाई आवश्यक पर्ने मुख्य रेडियसन सेटअप हुन सकेको छैन । रेडियसन सेटअप नहुँदासम्म क्यान्सरसम्बन्धी सेवा पूर्ण हुँदैन । रेडियसन मेसिन खरीद गर्न करीब ३० करोड बजेट आवश्यक पर्दछ । हाल अस्पतालले चालू आर्थिक वर्षको १७ करोड बजेटबाट सिटी स्क्यान, म्यामोग्राम, ल्याप्रोसकोपी, इन्डोसकोपी र सिस्टोस्कोपी लगायतका उपकरण खरीदका लागि टेन्डर प्रकृयामा रहेको उहाँले जानकारी दिनुभयो ।
जनशक्ति अभावमा हाल ६० बेडबाट सेवा शुरु गरेको अस्पतालमा अहिले दैनिक २० देखि ३० जना बिरामीहरुले सेवा लिइरहेका छन् । दुई सातायता केमोथेरापी सेवा पनि शुरु भएको छ । तर, यी सेवा सञ्चालनमा आएपनि मुख्य सेवा यहाँबाट उपलब्ध नहुँदा समस्या भएको श्रीमतीको उपचारका लागि सल्यानबाट आएका ईन्द्र गिरीले बताउनुभयो ।
अस्पतालमा जनशक्ति र बजेटको अभाव भएकाले पूर्ण रुपमा सेवा सञ्चालन हुन नसकेको अस्पतालका संस्थापक अध्यक्ष एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । “मन्त्रालय र विभागमा पटक–पटक आग्रह गरेपनि कार्यान्वयन हुन सकेको छैन ।”, उहाँले भन्नुभयो, “कर्मचारी समायोजनपछि दरबन्दी स्वीकृत हुने जानकारी पाइएको छ ।” एक दशकअघि प्रखर परोपकार मिसनले क्यान्सर अस्पताल सञ्चालनका लागि धनधान्यञ्चल ज्ञान महायज्ञबाट सङ्कलित पाँच करोड २६ लाख र संस्थाको रु तीन करोड २६ लाखमा नेपाल क्यान्सर अस्पतालको नाममा पूर्वाधार निर्माणका काम थालेको थियो ।
सरकारको ०७३ फागुन १५ को मन्त्रिपरिषद् बैठकले गठन आदेश जारी गरी संस्थाको जग्गा, भवन र सम्पूर्ण सम्पत्ति आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्ने निर्णय गरेपछि करीब २७ करोड बजेट विनियोजन गरेर अस्पतालको काम अघि बढेको हो । केही समयअघि सरकारले सङ्घीय सरकार मातहतबाट अस्पताललाई हटाएर प्रदेश सरकार मातहतमा राखेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विरोध थालेपछि सरकारले पुनः सङ्घीय सरकारमा राख्ने निर्णय गरेको थियो । सरकारीस्तरबाट सञ्चालित राजधानीबाहिर भरतपुरपछि यो अस्पताल दोस्रो हो । राजधानीका तीन ठूला अस्पतालपछिको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भएका कारण प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिमका बिरामीलाई भरतपुर क्यान्सर हस्पिटललगायत काठमाडौँ र भारतको लखनउ जानुपर्ने बाध्यता अन्त्य हुने भएकाले आवश्यक दरबन्दी अनुसारका डाक्टरलगायत रेडियसन सेटअप गरी पूर्ण सेवा सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।