Aamsanchar

विराटनगर आएर प्रधानमन्त्री ओलीले भने-चन्दको अनधिकृत झुण्डलाई सरकारले चिन्दैन

Author Image
आइतवार, चैत ३, २०७५

काठमाण्डौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समुहलाई अनधिकृत झुण्डको संज्ञा दिनुभएको छ । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग प्रधानमन्त्री ओलीले निर्वाचन आयोगसहित कहिं कतै दर्ता नभएको समुहलाई सरकारले नचिन्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले चन्द समूह राजनीतिक दल नभएको उल्लेख गर्दै सो समूहले गरेका ध्वंसात्मक गतिविधि माथि मात्र सरकारले प्रतिबन्ध लगाएको उल्लेख गर्नुभयो । चन्द समुहलाई सरकारले लगाएको प्रतिवन्धबारे नेकपा भित्रैबाट बिरोध भएपछि प्रधानमन्त्री ओलीले सो समुह बारे धारणा राख्दा बिचार पु¥याउन नेताहरुलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताउनुभयो ।

फरक प्रशंगमा उहाँले तत्कालन मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो । पुनर्गठन हुँदैन ।” एक दिनको भ्रमणका लागि विराटनगर पुगेका प्रधानमन्त्री ओली कृषि बजारको उद्घाटन देखि ताल निरीक्षणसम्मको कार्यक्रममा सहभागी हुनु हुनेछ ।

प्रधानमन्त्री ओलीले मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्नुहुने कार्यक्रम छ । सो लगत्तै नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउनुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले अपरान्ह बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँ साँझ काठमाडौं फर्कनु हुनेछ भनेर रेडियो कान्तिपुरमा समाचार छ ।

Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर