बिर्तामोड, चालू आर्थिक वर्षको आठ महिनामा प्रहरीले लागू औषध कारोवारमा सम्लग्न ११ महिला सहित १ सय ३२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १ सय २२ पुरुष र ११ महिला पक्राउ परेका हुन् । अझैं लागू औषध कारोवारमा सम्लग्न एक पुरुष फरार रहेको प्रहरीले जनाएको छ ।
डाइजापाम,लुपिजेसिक, फेनारगन,नाइट्रोस र व्राउण्ड सुगर जस्ता लागू औषध उनीहरुले अधिक प्रयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लागूऔषध कारोवारीले प्रयोग गर्ने एक किलो पाँचसय ग्राम चरेस समेत बरामद भएको छ ।
लागू औषध प्रयोगमा कमी ल्याउन प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएपनि खुल्ला सिमानाका कारण पूर्वी नाका काँकरभिट्टा सहित विभिन्न ठाउँबाट लागू औषध नेपाल भित्रदै आउने गरेको छ ।
लागू औषधसहित पक्राउ परेका सवैलाई प्रहरीले मुद्धा चलाएपनि लागू औषधको कारोवारमा भने अझैं कमी आउन नसकेको सरोकारवालाको भनाई छ ।
गत वर्ष १ सय ७२ जना पुरुष र ८ महिला लागू औषध प्रयोगमा सम्लग्न भएको प्रहरीको तथ्याङक छ । जसमध्ये १२६ जानालई प्रहरीले मुद्धा दर्ता गरेको छ । अघिल्लो वर्ष लागू औषध प्रयोगमा सम्लग्न ८ पुरुष फरार रहेको र एक महिला पनि अझैं फरार रहेकाले उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकोा छ ।
गत वर्षपनि डाइजापाम,लुपिजेसिक, फेनारगन,नाइट्रोस र व्राउण्ड सुगर जस्ता लागू औषध उनीहरुले अधिक प्रयोग गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय झापामा रहेको छ ।
संयुक्त राष्ट्रसंघले २५ प्रकारका प्रिकर्सर रसायनहरू निषेधित गरेको छ । जुन रसायन नेपालमा पनि पूर्ण रुपले प्रतिवन्ध छ । जसमा प्रिकर्सर रसायन एसेटिक एनहाइड्रेड अफिमलाई लागू औषध हेरोइन बनाउन र लाइसर्जिक एसिड एलएसडी उत्पादन गर्न आवश्यक पर्दछ । यस प्रकारको प्रिकर्सर बरामद हुनु गम्भीर जनसरोकारको विषय हो । विश्वमा सबैभन्दा बढी दुव्र्यसन हुने लागू औषधहरूमा गाँजा र एम्फेटामिन पर्दछ ।
अफिम, मर्फिन, हेरोइन, डाइजेपाम, निट्राजेपाम गाँजा, भाङ शिथिलात्मक, कोकिन, एम्फेटामिन, मेथाफेटामिन उत्तेजनात्मक र एलएसडी, मेसकालिन, म्याजिक मसरुम भ्रमात्मक लागू औषध हुन् । शिथिलात्मक औषधी पीडानाशक हुन् । चिकित्सकहरूले अत्यधिक पीडा भएका बिमारीहरूलाई पीडा कम गर्न मर्फिन, मेथाडोन प्रयोग गर्छन् ।
बिमारीलाई शल्यक्रियापश्चात् पीडानाशक औषधी प्रयोग गरिन्छ । यसैगरी बिरक्तिएका, दुव्र्यसनी, मानसिक असन्तुलन भएकालाई चिकित्सकहरूले एन्टि डिप्रेसेन्ट औषधीहरू प्रयोग गरेर उपचार गर्छन् ।
अफिम, हेरोइनका लागि पप्पी बिरुवा खेती हुने दुई प्रमुख स्थानहरूमा मध्य पूर्व एसियास्थित पाकिस्तान, अफगानिस्तान, इरान देशहरूको सीमा क्षेत्रलाई गोल्डेन क्रिसेन्ट, दक्षिणपूर्व एसियाका थाइल्यान्ड, बर्मा, लाओसको सीमा क्षेत्र गोल्डेन ट्र्यांगलको नामले परिचित छन् ।
अफगानिस्तान, पाकिस्तान, सिरिया, इराक, यमन अफ्रिकाका देशहरू लिबिया, सुडान, सोमालिया, माली, कंगोमा भइरहेको गृहयुद्धमा अल काइदा, तालिवान, बोको हरामले आतंकवाद गतिविधिको लागि हातहतियार खरिद गर्न तेलबाहेकको आर्थिक स्रोतमा हेरोइनको व्यापार पनि हो ।
लागू औषध तस्करमा अवरोध हटाउन आर्थिक स्रोतको प्रयोग र राजनीतिक चलखेल गरी राज्य शासनमा आफ्नो अनुकूलको राजनीतिक नेतृत्व ल्याउन, सुरक्षा अधिकारीलाई रकम दिएर खरिद गर्ने, विरोधीहरूको हत्या जस्ता आतंककारी गतिविधिलाई नार्कोटेररिज्म भन्दछ । लागू औषधको अर्थोपार्जन विश्वव्यापी संगठित आपराधिक सञ्जाल विस्तार गर्नेदेखि लिएर राष्ट्रिय, अन्तराष्ट्रिय राजनीतिक प्रभुत्व कायम गर्ने गतिविधिमा प्रयोग हुने गरेको पूर्व सशस्त्र प्रहरी महानिरीक्षक किशोरकुमार लामाले बताउनुभयो ।
नेपालमा दुर्व्यसन हुने हेरोइन शुद्ध सेतो, कच्चा खैरो ब्राउन सुगर गाँजा, चरेस, भाङ, निट्राजेपाम, नाइट्रोसन, कोरेक्स, डाइजेपाम, मर्फिन, मेथाडोन र अन्य मनोदीपक सब्सटान्सहरू एम्फेटामिन, मेथाफेटामिन, एक्सटेसी रहेको लामाको भनाई छ ।
नेपालमा विभिन्न लागू औषध दुव्र्यसनीहरूको संख्या एक लाख रहेको आकलन गरिएको छ । लागू औषध दुव्र्यसनीहरूले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाएका छन् । स्थानीय र अन्तर्रा्ष्ट्रिय तस्करहरूले नेपाललाई ट्रान्जिटको रूपमा हेरोइन, अफिम, कोकिन तस्कर गर्न प्रयोग गरेको र गाजा, चरेस, तरल चरेस नेपालबाटै युरोप, अमेरिकाको बजारमा तस्करी गर्ने गरेको छ ।