Aamsanchar

आजबाट निर्वाचन आयोग नेतृत्वविहिन बन्दै

Author Image
आइतवार, चैत १०, २०७५

काठमाण्डौं ।

निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदैछ । प्रमुख आयुक्त अयोधीप्रसाद यादवको पदावधि आजबाट सकिएसंगै आयोग नेतृत्वविहीन हुने भएको हो ।

आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल पनि आजै सकिदैछ । दुबै जनाको नियुक्ति २०६९ साल चैतमा भएको थियो । शिक्षण पृष्ठभूमिका यादवले दुई र पत्रकारिता पृष्ठभूमिकी शर्माले आयोगमा एक कार्यकाल बिताउनुभएको हो । यादवले २०६३ साल पुष २७ देखि २०६९ पुष २६ सम्म आयुक्तको कार्यभार सम्हाल्नु भएको थियो ।

यादवको दोस्रो कार्यकाल आज सकिने भएको हो । उहाँले २०७३ असारपछि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नु भएको थियो । प्रमुख आयुक्तका लागि संवैधानिक परिषद्ले कसैको नाम सिफारिस नगरेकाले संसदीय सुनुवाई सहितको प्रक्रियाका कारण अझै कति समय लाग्ने टुंगो छैन ।

यादवकै नेतृत्वमा ७ सय ५३ स्थानीय तह, प्रतिनिधिसभा, राष्ट्रिय सभाको साथै सातवटै प्रदेशको निर्वाचन सम्पन्न भएको थियो । पाँच सदस्यीय आयोगमा दुईजनाले अवकास पाएपछि आयुक्त नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौडेल र सुधीरकुमार शाह रहने छन् । उहाँहरुको नियुक्ती भने २०७३ सालमा भएको हो ।

Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर