Aamsanchar

विप्लवको गतिविधि माथि प्रहरी र ‘रअ’को निग्रानी , दमन नगर्न झापा सेक्रेटरी सिंहको चेतावनी

Author Image
बुधवार, चैत १३, २०७५

बिर्तामोड ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सरकारले अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाएसंगै धमाधम विप्लवका कार्यकर्ताहरु पक्राउ पर्न थालेका छन् ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाए सगैं देशभर जिल्ला र गाउँ तहमा सुरक्षा सतर्कता बढाईएको हो । प्रहरीले झापामा पनि उच्च सर्तकता अप्नाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापामा विप्लवका कार्यकर्ताहरुको खोजि तिब्र बनाउनुका साथै उनीहरुको गतिविधिमाथि निगरानी बढाएको छ । विप्लव समूहको गतिविधि निस्तेज पार्न सादा पोसाकमा समेत सशस्त्र र जनपथ प्रहरी खटाईएको स्रोतले जनाएको छ । यता झापामा सहित पूर्वका जिल्लामा प्रहरीले कडाई गरेसंगै विप्लवका कार्यकर्ताहरु भूमिगत हुन थालेका छन् ।

विप्लवको गतिविधिलाई भारतीय गुप्तचर निकाय ‘रअ’ ले समेत निगरानी गरेको स्रोतले जनाएको छ । नेपालका विभिन्न स्थानमा प्रवेश गरेका ‘रअ’ का एजेन्टहरुले भारतीय सुरक्षाकर्मीलाई नेपालको सुरक्षा लगायतका विषयमा गोप्य ढङ्गबाट जानकारी गराउदै आएको स्रोतको दाबी छ ।

यता नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव समुहका झापा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेलले भने झापामा आफ्ना कार्यकर्ता दमन नगर्न आग्रह गरेका छन् । उनले राज्यको वेतिथी विरुद्ध आफुहरुले आजाव उठाएको भन्दै उनले प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सबैलाई सहयोग गरिदिन आग्रह गरे ।

आफुहरुले विकासको विरोध कहिल्यै पनि नगरेको भन्दै सेक्रेटरी पौडेलले अनावश्यक रुपमा ललछञ्ना लगाएर आफुहरुमाथि धरपकड सुरुभएको उल्लेख गरे । यस्तै अवस्था रहेमा उनले जनता सडकमा उत्रिने चेतावनी दिए । उनले झापामा कसैलाई धकधम्की नदिएको भन्दै गल्ती गर्नेहरु आफै डराउन थालेको उल्लेख गरे ।

यसैबीच इतिहासलाई फर्केर हेर्दा २००८ सालमा पनि नेपाल कम्युनिष्ट पार्टीमाथि तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो । विप्लव माओवादीलाई चैत महिना भित्र वार्तामा नआए नियन्त्रण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिए लगत्तै उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चैत महिनाभित्र प्रतिबन्ध नहटाएर सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी दिए । नेकपा र सरकारबीचको जुहारीका कारण सर्वसाधारण भने त्रसित बन्न थालेका छन् ।

Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर