Aamsanchar

लगानीको लागि स्वागत छ, सरकारले सुरक्षा दिन्छ – प्रधानमन्त्री

Author Image
शुक्रवार, चैत १५, २०७५

काठमाण्डाै,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभएको छ । काठमाण्डौमा सुरु भएको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बुद्ध र सगरमाथाको देशमा ठूला लगानीको लागि स्वागत छ, सरकारले लगानीको सुरक्षा दिन्छ ।’

लगानीकर्ताको सानो लगानीले पनि नेपालमा ठूलो प्रभाव पर्न सक्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले एक वर्षअघि आफूले राराबाट सम्बोधन गर्दै नेपाल अब विकासको बाटोमा अघि बढ्छ भनेको र त्यसैअनुसार अब देश अघि बढ्ने पनि बताउनुभयो । ‘देशमा निर्वाचित सरकार छ, हामी विकास र लगानीको सुरक्षामा कुनै कम्पर्माइज गर्दैनौं, ढुक्क भएर लगानी गर्नुहोस्’ प्रधानमन्त्रीले भन्नुभयो ।

आर्थिक विकासबिना राजनीतिक सुधारले मात्र महत्व नराख्ने भन्दै प्रधानमन्त्रीले लगानीकर्तालाई झण्झट नहुनेगरी कानुन सुधार गरिएको जानकारी पनि दिनुभयो । उहाँले पूर्वाधार विकास सरकारको मुख्य प्राथमिकता भएको भन्दै निर्यातको लागि समस्या नभएको र आन्तरिक बजार पनि बढेको बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको विकासका लागि विदेशी लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले लगानीको सुरक्षा दिने बताउनुभयो । सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको हो ।

सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ । नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६ सय बढी लगानीकर्ताको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ ।-उज्यालोबाट

Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर