बिर्तामोड ।

सडक दुर्घटना न्यूनीकरण महाअभियानको कार्यक्रमको अवधिका पूर्वमा भएको सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् ।

समुदाय–प्रहरी साझेदारी अन्र्तगत फागुन ३० गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले झापाबाट महाअभियानको थालनी गरेका थिए । उनले ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तिब्रता दिने उल्लेख समेत गरेका थिए । दुर्घटना घटाउनका लागि ट्राफिक प्रहरीले चैत १४ गतेसम्म सञ्चालन गरेको अभियानमा पूर्वका झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, भोजपुर, तेह्रथुम लगायतका १४ जिल्लामा एकै साथ अभियान सञ्चालन गरिएको थियो ।

अभियानको अवधिमा प्रदेश–१ का जिल्लामा ४८ वटा दुर्घटना हुदाँ १४ जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश गौतमले जानकारी दिए ।

उनका अनुसार गत वर्षको सोही अवधिमा ५२ वटा सवारी दुर्घटना हुदाँ २४ जनाको मृत्यु भएको भने ६२ जना घाइते भएका थिए । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतमले भने– अभियानको क्रममा सडकमा ट्राफिक प्रहरीको सक्रियता धेरै भयो त्यसैले यो वर्ष १० जनाको ज्यान बचाउन सफल भयौं ।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गरेपनि प्राय निस्प्रभावि देखिएको छ । अधिकांश सवारी दुर्घटनामा दुई पाङेग्रे सवारी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
यता १५ दिने अभियानको झापामा मात्रै ४ जनाले ज्यान गुमाएका छन् । १४ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख गरिएको छ । अभियानका क्रममा सञ्चालन गरिएका कार्यक्रमा औपचारिकतामा मात्र सिमित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले बताए । उनले भने– चालकदेखि मजदुर मात्र होइन ट्राफिक प्रहरीको पनि स्वास्थ्य परिक्षण गरियो, अन्य विभिन्न कार्यक्रमहरुले अभियान सफल भयो ।
ट्राफिक प्रहरी निरीक्षक अधिकारीले अभियान सफल भएको दाबी गरेपनि दुर्घटनामा कमी नआएको सरोकारवाला निकायको भनाई छ । अभियान सञ्चलन गरेपनि जिल्लामा चालकको लापरबार्ही, तिब्रगति, ओभर ट्याक लगायतका कारण हुने दुर्घटनामा कमी नआएको तथ्याङकले स्पष्ट पारेको छ ।
यसैबीच सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम अन्र्तगत प्रदेश ट्राफिक प्रहरीलाई १० थान मोटरसाइकल, १० थान ब्रेथलाइजर, व्लहील लक १० थान र ७ सय थान चालक र परिचालकलाई पोशाक वितरण गरिएको सडक दुर्घटना न्यूनिकरण महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

