Aamsanchar

प्रवासीको सहयोगमा खेलमैदान निर्माण

Author Image
आइतवार, चैत १७, २०७५

म्याग्दी, 

रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ ।

कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा जग्गा खरीद गरेर देवी देउराली युवा क्लबको खेलमैदान निर्माण भएको हो । करीब रु पाँच लाख लगानीमा ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका उपाध्यक्ष रेशम शर्माले जानकारी दिनुभयो ।

खेलमैदान निर्माणका लागि कतारमा पुगेका २८ युवाको रु तीन लाख ५० हजार सहयोगमा गत फागुनमा तीन रोपनी १४ आना जग्गा खरीद गरिएको थियो । क्लबले थप रु एक लाख खर्च गरेर खेलमैदान बनाएको हो । सरकारी निकायको सहयोगविनै खेलमैदान निर्माण गरेका हुन् ।

एक्साभेटर परिचालन गरेर जग्गा सम्याउन पुख्र्याैली नृत्य समूहले नाचगान गरेर जुटाएको रकम उपलब्ध गराएका थिए । बाध्यताले रोजगारी र अवसरको खोजीमा विदेशिए पनि गाउँको विकासका लागि सहयोग गरेको कतारमा रकम सङ्कलनका लागि संयोजन गर्नुभएका बालकृष्ण आचार्यले बताउनुभयो ।

खेलमैदानमा भलिबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स, फुटसल खेल सञ्चालन गर्न सकिने भएको छ । विस्तार गरेर फुटबल खेलसमेत सञ्चालन गर्न सकिने बनाउने क्लबको लक्ष्य छ ।
चिसापानीदेखि काफलडाँडा जोड्ने सडक विस्तारका लागि दुई लाख, ताकमकी रक्तक्यान्सरपीडित फुलमाया भण्डारीको उपचारका लागि रु एक लाख १४ हजार, हेम मावि शिवाङमा विद्युतीय पुस्तकालय स्थापना गर्न रु २० हजार सहयोग गरेका थिए ।

यसैगरी देवीस्थानका सुकबहादुर विकको उपचारका लागि रु १५ हजार, ताकमकी मिर्गौलापीडित इन्द्रा खत्रीको उपचारका लागि रु १३ हजार, काफलडाँडाकी शिवकुमारी शर्माको उपचारका लागि रु १० हजार सहयोग गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)