Aamsanchar

झापाका एसपीले किन लेखे विद्यार्थीलाई ‘मार्मिक’ पत्र

Author Image
मङ्गलवार, चैत १९, २०७५


किशोरावस्था मानिसको जीवनको सबैभन्दा संवेदनशील उमेर मानिन्छ । सायद, जिन्दगीलाई खुशीको उज्यालो बाटोमा या दुर्व्यसनको अँध्याराको भूमरीमा लैजाने उमेर पनि यही हो ।

यो बेला सचेतना र सावधानी अपनाइएन भने सानो गल्तीले पनि जिन्दगीभरी दुःख पाइन्छ । अझ भनौँ जिन्दगी नै बर्बाद हुन्छ । ज्यानै जाने खतरा रहन्छ । अभिभावक र किशोरकिशोरी स्वयंले यो उमेरलाई बुझेर अघि बढ्ने हो भने पक्कै पनि मानिसको जीवन स्वर्णीम हुने बाटोमा अघि बढ्नेमा दुईमत छैन ।

तर, पछिल्लो समय प्रविधिको दुरुपयोग र लागू औषधको प्रयोगले समाजमा अपराध बढिरहेको छ । दिनादुदिन विभिन्न किसिमका अपराधका घटना सार्वजनिक भइरहेका छन् । यसबाट सबैभन्दा धेरै बालबालिका र किशोरकिशोरी नै प्रभावित छन् ।

यही कुरालाई मध्यनजर गरेर झापा प्रहरीले सचेत रहन र सावधानी अपनाउन आह्वान गर्दै माध्यामिक शिक्षा परीक्षामा सहभागी विद्यार्थीहरुलाई पत्र हस्तान्तरण गरेको छ ।

झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले परीक्षामा सहभागी १५ हजार ५ सय ८७ विद्यार्थीलाई पत्र लेख्दै सभ्य समाज निर्माणको अभियानमा लाग्न आह्वान गरेका छन् । पत्र सोमबार जिल्लाका ५३ वटै परीक्षा केन्द्रहरुमा विद्यार्थीलाई वितरण गरिएको छ ।

‘मलाई लाग्छ अहिलेसम्मको तपाईको जीवनयात्रामा तपाई अभिभावक र साथीहरुको सहयोगमा आफ्नै गतीमा हिँड्नुभएको थियो होला तर, आउने भविष्यमा तपाईको आफ्नै योजना, आकांक्षा, सपना र गन्तव्यहरु त छँदैछन् सँगसँगै परिवार, समाज र देशप्रति समेत केही कर्तव्य र जिम्मेवारीहरु पनि रहनेछन्’, पत्रमा भनिएको छ, ‘आमाबुवाले व्यवस्थापन गर्नुभएको खाना, नाना र छाना, औषधीमुलो, विद्यालय लगायतको शुल्क, हजुरबुवा÷हजुरआमाले सुनाउनु भएको गीत÷कथा÷कविता र गुरुहरुले खियाउनुभएको तीनवटा औँलाहरुको सार्थकता तपाईहरुको उज्जवल भविष्य सँगसँगै अध्ययन अनुसन्धान पश्चात सबल राष्ट्र निर्माणमा तपाईहरुबाट गरिएको योगदानबाट मात्रै साथर्क हुन्छ ।’

विद्यार्थीलाई नै किन पत्र पठाइयो त ? एसपी मैनाली भन्छन्, ‘विद्यार्थी भनेका काँचो माटो जस्तै हुन् । हामीले जसरी आकार दिन सक्यौँ, जे कुरा उनीलाई बुझाउन सक्यौँ त्यो निकै प्रभावकारी हुन्छ । एक जना विद्यार्थीमार्फत उसको परिवारमा सचेतना पुग्छ । त्यसरी कम्तिमा ३ जना मान्छेमा सन्देश पुग्छ ।’

एउटा विद्यार्थीमार्फत सिंगो समाजलाई सचेत गराउन सकिने उनले बताए । पत्रको माध्यमबाट विद्यार्थीमा सकारात्मक सोचको विकास भई ‘लागू औषध तथा साइबर क्राइम’ लगायतका अपराधमा कमी आउने मैनालीको विश्वास छ । सभ्य र अपराधमुक्त समाज निर्माणमा विद्यार्थीहरुको पनि भूमिका महत्वपूर्ण हुने भएकाले यसो गरिएको उनी बताउँछन् ।

‘अहिलेका विद्यार्थी भनेका भविष्यका कर्णाधार हुन् । अहिले नै सकारात्मक सोचको विकास गराउन सकियो भने भविष्यमा हुने कुनैपनि आपराधिक घटनामा कमी आउन सक्छ’, एसपी मैनाली भन्छन्, ‘अहिलेका विद्यार्थी नै भोलि समाज र देशको नेतृत्व लिने ठाउँमा पुग्ने भएकाले अहिलेदेखि नै अपराधरहित समाज निर्माणको बाटोमा लाग्न प्रेरित गर्नुपर्छ ।’

Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर