Aamsanchar

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरु काठमाडौंमा

Author Image
बुधवार, चैत २०, २०७५

काठमाण्डौं ।

स्वतः प्रतिनिधि र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनर्विचारका लागि नेतृत्वलाई दबाब दिन भन्दै नेपाली कांग्रेसका असन्तुष्ट सभापतिहरु काठमाडौंमा भेला भएका छन् ।

बिहान साढे ११ बजेपछि केन्द्रीय कार्यसमितिको निर्णय सहित राजनीतिक अवस्था, पार्टी संगठन, बारा र पर्सामा आएको विपत लगायत बिषयमा छलफल हुने नुवाकोट सभापति जगदिशनरसिंह केसीले जानकारी दिनुभयो ।

गत फागुन १२ गते केन्द्रीय समितिले स्वतः प्रतिनिधि चयन हुने व्यवस्था सहितको विधान पारित गरेको थियो । महासमिति बैठकमा भएको सहमति विपरित केन्द्रीय कार्यसमितिले सो प्रावधान सहितको विधान पारित गरेको भन्दै असन्तुष्ट सभापतिहरुले बिरोध गर्दै आएका छन् ।

विधान छाप्नु अघि नै नेतृत्वलाई दवाव दिन भन्दै भेला डाकिएको काभ्रेका सभापति मधु आचार्यले जानकारी दिनुभयो । स्वतः प्रतिनिधि र आरक्षणको व्यवस्था खारेजबारे यसअघि समान धारणा राख्दै आएपनि केही जिल्लाका सभापतिहरुले भने भेला बोलाईएको प्रति असन्तुष्टि जनाएका छन् । भेलामा ५० बढी जिल्लाका सभापतिहरु सहभागी हुने अनुमान छ ।

भेला भोलीसम्म चल्नेछ । भेलाको निष्कर्ष सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका शीर्ष नेतालाई बुझाउने नुवाकोट सभापति केसीले बताउनुभयो ।-रेडियो कान्तिपुरबाट

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर